प्राधिकरणले चार ठूला उद्योगको लाइन काट्यो

admin

काठमाडौं, पुस ६ : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड लाइनको बक्यौता नतिरेका भन्दै सबैभन्दा धेरै बक्यौता रहेका चार ठूला उद्योगको लाइन काटेको छ ।

प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन शुक्रबार काटेको जनाएको छ ।

प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ ।

यसका साथै, प्राधिकरणले ६१ वटा कम्पनीले ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएर बक्यौता नतिरेको जनाउँदै आएको छ । प्राधिकरणका अनुसार साँवा २० अर्ब तथा ब्याज र जरिवाना करिब ५ अर्ब रुपैयाँ गरि कुल बक्यौता २५ अर्ब रुपैयाँ रहेको छ।

उद्योगी र प्राधिकरणबिच विवादीत विषयमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेट लाइनको बक्यौता कुनै पनि हालतमा उठाउन निर्देशन दिएका थिए ।

लामो समयदेखि प्राधिकरण र उद्योगीबिच विवादमा रहेको डेडिकेटेड लाइनको बक्यौता बारे प्राधिकरणलाई निर्देशन दिँदै प्रधानमन्त्रीले विद्युतको बक्यौता नतिर्ने उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए ।

उद्योगी व्यवसायीको भेटमा तत्काल लाइन नकाट्ने प्रतिवद्धता बताएका प्रधानमन्त्री दाहालले विहीबार एक्कासी उर्जामन्त्रीको उपस्थितीमा प्राधिकरणलाई लाइन काट्ने निर्देशन दिएका थिए।

उद्योगी र प्राधिकरणबिच विवादीत डेडिकेटेड र ट्रंकलाइनको व्यवस्थालाई विद्युत नियमन आयोगले २०७७ असार १ गतेदेखि खारेज गरेको थियो । आयोगले नयाँ महसुल जारी गर्दै डेडिकेटेड र ट्रंक लाइनका नाममा महंगोमा विद्युत बेच्न पाइने विगतको व्यवस्था नै हटाइदिएको थियो।

प्रतिक्रिया