आन्दोलन चर्किएपछि स्वदेश फर्किए बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी

admin

काठमाडौं । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका कारण समस्यामा परेका केहि नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् ।

बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका केहि विद्यार्थीहरु आइतबार बिहान स्वदेश फकिएका हुन् । नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेसंगै स्वदेश फर्कन इच्छुक विद्यार्थीहरु नेपाल फर्कन थालेका हुन् ।

स्वदेश फर्र्किएका डेल्टा मेडिकल कलेजका विद्यार्थी दिलिपा सापकोटाले बंगलादेशमा कफ्र्युका बाबजुद एम्वुलेन्सबाट विमानस्थल पुगेर नेपाल फर्किएको बताउनुभयो । उहाले बंगलादेशको अवस्था हिंसात्मक रहेकाले नेपालीहरुलाई सुरक्षित राख्नुपर्ने र नेपाली दूतावासलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै एमविविएस पढ्नका लागि दुई महिनाअघि मात्रै बंगलादेश जानुभएकी इनाम मेडिकल कलेजकी विद्यार्थी सदिक्षा बस्नेतले आन्दोलनमा सहभागी विद्यार्थीलाई खोज्न राती राती मान्छेहरु आउने गरेकाले थप त्रसित भएको बताउनुभयो । उहाले आन्दोलनरत क्षेत्रमा इन्टरनेट सेवा समेत अवरुद्ध भएको अवस्था सहज नभएको उल्लेख गर्नुभयो ।

यसअघि नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि सम्पर्क गर्न भनेको थियो ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म १ सय १५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया