बेलायती राजदूतले जनकपुरधाममा मनाए नेपाली परम्परा अनुसार वैवाहिक वर्षगाँठ

admin

जनकपुरधाम । जनकपुरधामलाई वैवाहिक गन्तब्यको रुपमा विकसित गर्ने लक्ष्य लिएर अघि बढिरहेका बेला नेपालका लागि बेलायती राजदूत रब फेनले आज आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जानकी मन्दिरमा मानाउनु भएको छ ।

बेलायती राजदुत फेन र उनकी धर्मपत्नी जुलिया फेनले मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फुलको बरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाउनु भएको थियो । फेनले जुलियालाई अँगुठी पनि पहिराएर वर्षगाँठ मनाउनु भयो ।

त्रेतायुगमा भगवान रामजानकीले यसै पावन धर्तीमा विवाह गरेको विश्वास रहेकाले आफू पनि वैवाहिक वर्षगाँठ मनाउन जनकपुर आएको र अत्यन्तै हर्षित भएको उहाँले बताउनु भएको छ ।

नेपालका लागि बेलायती राजदूत फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुल्हीनले रातो साडी र चुनरी लगाउनुभएको छ । बेहुला र बेहुलीको लगनगाँठो बेरिएको छ र नव दुल्हादुलही झैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उहाँहरु जानकी मन्दिरमा दर्शन पनि गर्नुभएको थियो ।

गतवर्ष कार्य विशेषले जनकपुरधाम लगायत मधेशका विभिन्न चर्चित ठाउँहरु घुम्न पाएको र त्यही बेला नै यो वैवाहिक वर्षगाँठ जनकपुर नगरमा मनाउने फेनले निधो गर्नु भएको थियो ।

वर्षगाँठको अवसरमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेश प्रदेश सरकारकी मन्त्री रानी शर्मा तिवारी र जनकपुरधाम महानगरपालिकाका प्रमुख मनोजकुमार साहले बेलायती राजदूतको जोडीलाई बधाई दिनुभयो ।

जनकपुरधाममा गरेको विवाह उत्कृष्ट र सफल हुने प्रचार प्रसारसहित जनकपुरधामलाई म्यारेज डेस्टिनेसनका रुपमा विकास गर्न राजदूत दम्पतीले देखाएको सदासयताले जनकपुरधाम र मधेश प्रदेशले समग्र विकासमा ठूलो फड्को मार्ने विश्वास पनि लिइएको छ ।

 

 

प्रतिक्रिया