काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिसम्बन्धी उच्च स्तरीय परामर्श गोष्ठीलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले मुलुक संघीय संरचनामा गइसकेपछि सोहि अनुसारको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
उहाले राजस्व संकलन, आन्तरिक ऋण, अन्तराष्ट्रिय अनुदानबाट मात्रै वित्तीय व्यवस्थापन हुदै आएकोमा अव भने उक्त माध्यमबाट मात्रै बित्तीय व्यवस्थापन गरेर राष्ट्रको समृद्धिको आकांक्षा पुरा हुन नसक्ने उल्लेख गर्नुभयो ।
सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमका लागि समेत राज्यले आफैले स्रोत व्यवस्थापन गर्न नसकेको उहाले बताउनुभयो ।
मन्त्री पौडेलले राष्ट्रिय आवश्यकताका आधारमा अन्तराष्ट्रिय सहयोग लिने भनिएपनि वास्तविक रुपमा त्यस्तो हुन नसकेको बिषयमा समिक्षा जरुरी रहेको धारणा राख्नुभयो । खर्च व्यवस्थापनमा निकै कमजोर देखिएको भन्दै उहाले यसका कारण वित्तीय प्रणालीमा समस्या आउन सक्ने उल्लेख गर्नुभयो ।
त्यस्तै मन्त्री पौडेलले बेरुजुको अवस्था बृद्धि गर्दै गएको अवस्थामा यसलाई न्यूनिकरण गर्ने उपायको खोजी गर्नुपर्ने बताउनुभयो ।