काठमाडौं । पशुपतिनाथ मन्दिरमा यही फागुन १४ गते लाग्ने महाशिवरात्रि मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले सोमबार पत्रकार सम्मेलन गर्दै भक्तजनलाई सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको जानकारी दिएको छ।
दर्शन व्यवस्था र लाइन व्यवस्थापन
प्रचारप्रसार तथा साजसजावट उपसमितिका संयोजक राजकुमार खत्रीका अनुसार भक्तजनको सुविधाका लागि दश उपसमिति गठन गरिएको छ। यस वर्ष दुई सेकेन्डमा दश जनाले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ।
‘अघिल्लो वर्षभन्दा यसपटक भक्तजनको संख्या बढ्ने अनुमान छ। पशुपति प्रवेशका लागि बाहिर चार वटा लाइन रहनेछन् भने पश्चिम र उत्तर ढोकामा तीन/तीन, पूर्व र दक्षिण ढोकामा दुई/दुई लाइन रहनेछ,’ संयोजक खत्रीले जानकारी दिए।
समय र अनुमानित भक्तजन संख्या
दर्शनका लागि फागुन १४ गते बिहान २:३० बजेबाट फागुन १५ गते बिहीबार बिहान ६:०० बजेसम्म ढोका खुला रहनेछ। यस अवधिमा पाँच लाखभन्दा बढी भक्तजन प्रत्यक्ष रूपमा दर्शन गर्न आउने अनुमान गरिएको छ। मन्दिर परिसरमा आउने अन्य भक्तजनको संख्या जोड्दा यो संख्या अझ बढ्नेछ।
सुरक्षा, सरसफाइ र अन्य व्यवस्था
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी, जुत्ताचप्पल राख्ने स्थान लगायतको व्यवस्था मिलाइएको छ।
सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन प्रबन्ध, आवास, भोजन, धुनीका लागि दाउरा व्यवस्थापन, धार्मिक कार्यक्रम तथा चन्दन मन्दिर व्यवस्थापनका लागि विभिन्न उपसमितिहरूले काम गरिरहेका छन्।
नागा बाबाहरू र मन्दिरको सजावट
नागा बाबाहरूका लागि पशुपतिनाथ मन्दिर परिसरमा धुनीको विशेष व्यवस्था गरिएको छ। साथै, मन्दिरको मूल ढोकालगायत विभिन्न स्थानहरू फूल र बिजुली बत्तीले सजाइँदै छन्, जसको काम शिवरात्रिको एक दिनअगावै पूरा गरिनेछ।
विदेशी तीर्थालु र पर्यटकको आगमन
शिवरात्रिको अवसरमा छिमेकी मुलुक भारत लगायत विभिन्न तेस्रो मुलुकबाट हजारौं तीर्थालु तथा पर्यटक पशुपतिनाथ दर्शनका लागि आउने अपेक्षा गरिएको छ। पशुपतिनाथ मन्दिर क्षेत्रलाई विशेष रूपमा रङ्गीचङ्गी पारिएको छ।
तस्विर : मच्छे नारायण श्रेष्ठ/ पिएनपि खबर