काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) लागू गरेसँगै धितोपत्र दोस्रो बजारमा नयाँ मूल्य निर्धारण व्यवस्था सुरु गरेको छ।
अबदेखि कुनै कम्पनीको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य मानिनेछ।
नयाँ व्यवस्था के छ?
– दिउँसो २:४५ देखि ३:०० बजेसम्मको कारोबार औसत मूल्य अन्तिम मूल्यको आधार हुनेछ।
– यदि सो अवधिमा कारोबार नभए, अघिल्लो अन्तिम मूल्यलाई नै मान्यता दिइनेछ।
यसअघि अन्तिम कारोबार मूल्यलाई नै अन्तिम मूल्य मान्ने व्यवस्था थियो, जसले थोरै सेयर किनबेच गरी मूल्य प्रभावित पार्ने खेललाई बढावा दिएको थियो। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नयाँ प्रणालीले अन्तिम समयमा मूल्य बढाउने अनियमितता रोक्नेछ।
नेपाल धितोपत्र बोर्डले फागुन १५ गते नेप्सेमा यो विनियमावली स्वीकृत गरेको थियो, जसलाई नेप्सेले परीक्षणपछि चैत ७ गतेदेखि औपचारिक रूपमा लागू गरेको हो।