काठमाडौं । पछिल्लो समय बेलायतमा रहेर समाजसेवामा सक्रिय रहेका नेपाली मूलका अन्दिप आचार्यले विश्वकै ठूलो मोटरसाइकल निर्माण गरेर छन् ।
झण्डै २९ वर्षअघि लन्डन पुगेका अन्दिप हाल नटिङ्घमस्थित ‘गोर्खा किचन’ नामक आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। व्यवसायसँगै हार्ले मोटरसाइकलप्रेमी समेत रहेका उनले हालै आफ्नै डिजाइनमा V8 chopper मोटरसाइकल तयार गराएका हुन्, जुन विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल मानिएको छ।
झण्डै ९ महिनाको समय लगाएर अमेरिका र जर्मनीमा विभिन्न सामग्री तयार पारिएको उक्त मोटरसाइकल ८४०० सिसीको क्षमता, ५४० हर्सपावर, ७०० केजी वजन र ३२ लिटरको फ्यूल ट्याङ्कीसहित अत्याधुनिक बनाइएको छ।
मोटरसाइकलको मूल्यबारे खुलाउन चाहँदैनन् अन्दिप, तर उनले आफ्नो संग्रहमा हाल ६ वटा हार्ले, २ वटा V8 चोपर र १ बुलेट मोटरसाइकल गरी कुल ९ वटा विशेष मोटरसाइकल रहेको जानकारी दिएका छन्।
व्यवसाय र बाइकप्रेमसँगै समाजसेवामा अग्रसर रहेका आचार्यले २०७२ सालको विनाशकारी भूकम्पमा डुकाटी र हार्ले बाइक राफल चिठ्ठा मार्फत ४७ लाख रुपैयाँ संकलन गरी विभिन्न भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री—खाद्यान्न, लत्ताकपडा वितरण गरेका थिए।
उनका आमाको नाममा लमजुङको रम्घा-५ स्थित दुईपिप्लेमा ‘पुष्पलता जनएकता बहुमुखी क्याम्पस’ स्थापना गरिएको छ, जहाँ उनी छुट्टिमा नेपाल आएका बेला विद्यार्थीहरूलाई स्कुल ड्रेस, कापी–कलम, झोला वितरण गर्दछन्।
लमजुङस्थित आफ्नै गाउँमा अन्दिपले ‘आनन्ददीप पावर हाउस’ स्थापना गरी गाउँमा विद्युत् सेवा निःशुल्क रूपमा पुर्याएका छन्।
त्यस्तै, भाञ्जा बाबुको नाममा राइस मिल स्थापना गरि स्थानीयलाई सहज सेवा दिँदै आएका छन्। सिन्धुलीमा भूकम्पले क्षति पुर्याएको एउटा प्राथमिक विद्यालयलाई नयाँ भवन बनाएर पुनः सञ्चालनमा ल्याउने काम पनि उनले गरेका छन्।
त्यसैगरी, काठमाडौंको एनिमल रेस्क्यु संस्था मार्फत् प्रत्येक कुकुर तिहारमा ‘स्ट्रिट डग बाइक र्याली’ आयोजना गर्ने गरेका छन्, जसमा बेलायतबाट आफन्त तथा साथीहरूबाट संकलन गरिएको रकम उनी स्वयं नेपाल ल्याएर सहयोग स्वरूप हस्तान्तरण गर्दछन्। गत वर्ष गरिएको र्याली आठौं संस्करण थियो।
हालै मात्र जर्मनीबाट विश्वकै ठूलो भनिएको V8 मोटरसाइकल लन्डन ल्याएका अन्दिपले उक्त बाइक चलाउन चाहिने आवश्यक कागजात आउन अझै एक महिना लाग्ने बताउँदै, त्यो दिनका लागि निकै उत्साहित रहेको बताएका छन्। उनले भविष्यमा अझै ठूलो बाइक निर्माण गरेर विश्वमा नेपाली पहिचान उजागर गर्ने इच्छा समेत व्यक्त गरेका छन्।