काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्ने कुरामा अर्थमन्त्री दृढताका साथ खडा हुनुपर्ने बताउनुभएको छ ।
आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले अहिले बजेट बिनियोजनको कार्यान्वयनमा समस्या देखिएको भन्दै आगामी बर्षको बजेटलाई प्राथमिकताका आधारमा बिनियोजन गर्ने कुरामा अर्थमन्त्री दृढताका साथ खडा हुनुपर्ने बताउनुभएको हो ।
बिनियोजन ठिक ढंगले नहुदा खर्च गर्नुपर्ने ठाँउमा खर्च गर्न नसकिएको र खर्च गर्न नपर्ने ठाँउमा अनावश्यक खर्च भइरहेको उहाले बताउनुभयो । उहाले बिभिन्न आयोजनाका नाममा थोरै थोरै रकम बाड्ने प्रवृतिलाई रोक्नुपर्ने सुझाव दिनुभयो ।
महतले सिमित स्रोत साधनको दुरुपयोग नहुने अवस्था र त्यसको प्रभावकारी कार्यान्वयनका साथै प्रतिफल सुनिश्चित गर्ने अवस्था सिर्जना गर्न सरकारले गम्भीर गृहकार्य गर्नुपर्ने बताउनुभयो ।