आज पाँचवटा समितिको बैठक बस्दै

admin

काठमाडौं । संघीय संसदअन्तर्गतका पाँच संसदीय समितिको बैठक आज (बुधवार) बस्दैछन्। आज अर्थ, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य तथा सूचना प्रविधि, र सार्वजनिक लेखा समितिको बैठक निर्धारण गरिएको हो।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ, जसमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक, २०८० का सन्दर्भमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको छ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ७:३० बजे बस्नेछ। उक्त बैठकमा गठन भएका दुई उपसमितिका प्रतिवेदनहरू समितिमा प्रस्तुत गरिनेछ।

पूर्वाधार विकास समितिको बैठक बिहान ८:३० बजे सुरु हुनेछ। बैठकमा विद्युत् विधेयक, २०८० मा संशोधनसहित दफावार छलफल हुने कार्यसूची तय गरिएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुने उल्लेख छ।

यस्तै, सार्वजनिक लेखा समितिको ४१ औँ बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। उक्त बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ।

प्रतिक्रिया