आज चार संसदीय समितिका बैठक बस्दै, बजेटदेखि विपद् व्यवस्थापनसम्म छलफल

admin

काठमाडौँ । संघीय संसदअन्तर्गत विभिन्न चारवटा संसदीय समितिको बैठक आज (बिहीबार) बस्दैछ। संसद सचिवालयका अनुसार आज बस्ने बैठकहरूमा अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति समावेश छन्।

सिंहदरबारस्थित प्रतिनिधिसभा भवनमा बिहान ११ बजे सुरु हुने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने विषयहरूबारे विस्तृत छलफल हुनेछ। बैठकमा समिति सदस्यहरूसँगै राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपाल उद्योग परिसंघ (CNI) का प्रतिनिधिहरूको सहभागिता रहनेछ।

त्यसैगरी, सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। सो बैठकमा समितिमा प्राप्त भएका उजुरीहरूबारे छलफल हुने कार्यसूची तय गरिएको छ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० बजे सुरु हुनेछ। उक्त बैठकमा आर्थिक वर्ष २०८२ का विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल हुनेछ। बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिहरू सहभागी हुनेछन्।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे सुरु हुनेछ। सो बैठकमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामकारबाहीबारे छलफल गरिनेछ। विशेष गरी विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य तथा पुनर्लाभका लागि गरिएको तयारी र भावी कार्ययोजनालाई केन्द्रमा राखेर छलफल हुनेछ।

प्रतिक्रिया