काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जली जग्गा प्रकरणमा आफुले कुनै अनुचित काम नगरेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको भन्दै आफुले कुनै अनुचित काम नगरेको बताउनुभएको हो ।
नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेको र त्यसलाई देखेर कतिपय व्यक्तिहरु आत्तिएको उहाले बताउनुभयो ।
अध्यक्ष नेपालले केहि व्यक्तिहरुलाई बदलाको भावनाले पोलिरहेको भन्दै त्यसको कारण आफुमाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको जिकिर गर्नुभयो ।
उहाले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको उल्लेख गर्नुभयो । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उहाले बताउनुभयो ।
पतञ्जली जग्गा प्रकरणमा आफुमाथि लगाएको गलत आरोप बिरुद्ध दृढतासाथ उभिने भन्दै अध्यक्ष नेपालले न्यायपालीकाले आफुलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।