काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गर्ने टिकटक प्रयोगकर्ता रमा बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
बुधबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनीविरुद्ध मुद्दा दायर गरेपछि न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
खोटाङ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी बस्नेतलाई गत असार १ गते पक्राउ गरिएको थियो। गृह मन्त्रालयको पत्रका आधारमा प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले मुद्दा अगाडि बढाएको हो।
अभियोगपत्रअनुसार बस्नेतले टिकटकमार्फत प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि टिप्पणी गर्दै भिडियो बनाएकी थिइन्। ती भिडियोमार्फत घृणा र द्वेष फैलाएको र चरित्रहत्या गरेको आरोप लगाउँदै एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।