काभ्रे। काभ्रेबाट भक्तपुरतर्फ जाने वैकल्पिक मार्ग बनेपा–नाला–ताथली सडक खण्डअन्तर्गत नालास्थित एक पुल भासिएको छ। उग्रचण्डी ग्यास उद्योग नजिकै पुण्यमाता खोलामा बनेको उक्त पुल आज शनिबार बिहान भासिएपछि वैकल्पिक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
पुल भासिँदै गर्दा कुनै मानवीय क्षति नभएको जनाइएको छ। यसअघि शुक्रबार साँझ सागा झोलुंगेपुल नजिकै पहिरो खसेपछि अरनिको राजमार्ग एक घण्टासम्म अवरुद्ध भएको थियो। त्यतिबेला साना सवारी साधनलाई सोही नाला मार्गतर्फ डाइभर्ट गरिएको थियो। तर अब पुल भासिएपछि राजमार्ग बन्द हुँदा यात्रु र चालकहरूलाई झनै सास्ती हुने काभ्रेका ट्राफिक प्रहरी प्रमुख सुनील धाजुले बताए।
धाजुका अनुसार, बनेपा नगरपालिका–१ र ४ को सीमाना भएर बग्ने पुण्यमाता खोलामा रहेको पुल अस्थायी रूपमा मर्मत गर्न कार्य सुरु गरिएको छ। तत्काल वैकल्पिक व्यवस्था नहुँदासम्म काभ्रे र काठमाडौंबीचको आवागमनमा प्रभाव पर्ने देखिएको छ।
सुरक्षा निकाय तथा स्थानीय निकायका संयोजनमा पुल मर्मत कार्य तीव्र पारिएको बताइएको छ। यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।