उचित संरक्षण र मर्मतको अभावमा बबई नदीको पक्की पुल जीर्ण बन्दै

रिता घिसिंग

दाङ, १६ असोज : उचित संरक्षण र मर्मतको अभावमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको शीत्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ ।

मर्मतको अभावमा पुलमा गरिएको कालोपत्रेमा ठाउँठाउँमा खाल्डाखुल्डी भएको छ । पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीयवासी होताराम रजौरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जोडाइमा राखेका तामाका पाता पनि चोरी भएका छन् ।

“पानी परेको समयमा ती जोडाइबाट पानी पस्ने गरेको र पुलको पूर्वतिरको भाग कमजोर हुँदै गएकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने सम्भावना बढी रहेको छ” स्थानीयवासी गीता पौडेलले बताउनुभयो ।

विसं २०५५ मा निर्माण गरिएको सो पक्की पुलको लम्बाइ ५०० मिटर र चौडाइ ३० मिटर छ । सो पुल भएर राप्ती राजमार्गअन्तर्गत दाङ, सल्यान, रुकुमबाट दैनिक एक हजार बढी यातायातका साधन आवतजावत गर्दछन् ।

त्यसैगरी तुलसीपुर घोराही र लमही सडकखण्डमा रहेका एक दर्जन खहरे खोलामा पुल निर्माण शुरु भएका छन् तीमध्ये अधिकांश पुल अलपत्र रहेका छन् ।
–रासस

प्रतिक्रिया