प्रधानमन्त्री न्यूयोर्कतर्फ

admin

सानहोजे , १६ असोज: प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको सान होजेबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिई यही असोज १४ गते कोस्टारिका आइपुग्नु भएको थियो । कोष्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा उहाँ यहाँ आइपुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले सान होजेमै शान्ति विश्वविद्यालयलाई पनि सम्बोधन गर्नुभयो ।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ ।
-रासस

प्रतिक्रिया