हेटौँडा, २२ असोज: प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले राजनीतिक दलको साझा सहमतिबाट नै विधेयक पारित गर्ने बताउनुभएको छ । प्रदेश मामिला समितिद्वारा प्रकाशित प्रदेशसभाको कार्यक्षेत्र र कानून निर्माणसम्बन्धी पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले भन्नुभयो, “प्रदेशसभा नियमावलीको भावनाअनुसार नै राजनीतिक दलको साझा सहमतिमा विधेयकको मस्यौदामाथि छलफल गर्ने र पारित गर्ने कानूनी प्रक्रिया अवलम्बन गरिनेछ ।”
सभामुख श्रेष्ठले राष्ट्रको बृहत् हित हुने खालका विधेयक प्रदेशसभामा प्रस्तुत हुँदा संविधानको मर्म र विधमान ऐन कानूनको परिधिभित्र रहेर सभालाई साझा संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्दै लोकतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक अभ्यासमा सबै दलको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । यसैगरी उपसभामुख राधिका तामाङले प्रदेशसभा सचिवालयद्वारा प्रकाशित प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रदेशसभालाई सम्बोधन गर्नुभएको स्मारिकाको आज यहाँ विमोचन गर्दै प्रदेशसभासँग समन्वय र सहकार्य गरी सरकारले प्रदेशको विकास र समृद्धिका लागि कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभा सचिवालद्वारा बडादशैँको उपलक्ष्यमा आज यहाँ आयोजित स्वागत समारोहमा उहाँले सो स्मारिकाको विमोचन गर्नुभएको हो । समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्री, प्रदेशसभाका सदस्य मकवानपुर जिल्लास्थित कार्यालय प्रमुख र नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीका उच्चपदस्थ अधिकृतको सहभागिता रहेको थियो ।
-रासस