आर्थिक विकास सम्भव : मुख्यमन्त्री पोख्रेल

admin

बुटवल, ८ कात्तिक : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले कृषि क्षेत्रमा लगानी वृद्धि गरेर कृषिको आधुनिकीकरण, व्यापारीकरण र बजारीकरण गर्नसके आर्थिक विकास सम्भव हुने बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले व्यापार व्यवसायबाट आएको मुनाफालाई कृषि क्षेत्रमा लगानी गर्नसके समाजको आर्थिकस्तर सुदृढ हुनेसमेत बताउनुभएको छ । सैनामैना व्यापार सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक मेलाको आज सैनामैनामा उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले देश एकात्मक राज्य व्यवस्थाबाट सङ्घीय व्यवस्थामा जाँदा थुप्रै चुनौतीको सामना गर्नुपरेको भन्दै प्रदेश सरकार जनताको जीवनस्तर सुदृढ गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो ।

उहाँले सामाजिक सङ्घसंस्थाको सहयोग र सहभागिताका साथमा साझा विकासका एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । पोखरेलले अनुत्पादक क्षेत्रमा लगानी कम गरेर अनुत्पादक क्षेत्रको लगानी उत्पादनका क्षेत्रमा लगाउनसके मात्र आर्थिक विकासका लागि टेवा पुग्ने बताउनुभयो । मेला उद्घाटन कार्यक्रममा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले मेला महोत्सवले कृषि क्षेत्रको आधुनिकीकरण गर्नका लागि आफ्नो सहयोग र पहल निरन्तर रहने बताउनुभयो । प्रदेशसभा सदस्य फकरुद्दिन खाँले स्थानीय व्यापार मेलालाई अवसरका रुपमा लिएर यसबाट हुने फाइदा सबै वर्गले लिनसक्ने बताउनुभयो । मेला महोत्सवका लागि नगरबाट हुनसक्ने सहयोग प्रदान गर्दै यसलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

महोत्सवका संयोजक जीवनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की, नेकपा जिल्ला प्रतिनिधि निर्मल जिसी, तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष झवीन्द्र कँडेल, सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजबहादुर क्षेत्री, समाजसेवी फणीन्द्र प्रसाद शर्मा लगायतले महोत्सवले कृषकलाई प्रोत्साहन गर्ने बताउनुभयो । ‘देश निर्माणमा व्यापारको आवश्यकता, व्यावसायिक हितसँगै सामाजिक एकता’ भन्ने मूल नाराका साथमा शुरु भएको महोत्सव कात्तिक १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।
-रासस

प्रतिक्रिया