आँप बगैंँचा संरक्षणमा युवा

admin

बेँसीशहर, ९ कात्तिक: मासिन लागेको आँपको बगैँचा संरक्षणमा राइनास नगरपालिका–३ टिमुरेका युवा लागेका छन् । टिमुरे गाउँका पन्थीबाजे र धर्म सार्कीलगायतले २०० वर्षअघि स्थानीय प्रजातिका आँपका बिरुवा रोपेकाले यसको संरक्षणमा जुटेको आँप बगैँचा संरक्षण समितिका अध्यक्ष विष्णु पन्थीले बताउनुभयो ।

स्थानीयवासीका अनुसार हाल उक्त बगैँचामा १८ प्रजातिका १८ वटै आँपका पुराना बोट छन् । उनीहरूले बगैँचामा रहेको जुरेली, कटरे, कर्कले, सिन्दूरे, सानो लहरे, ठूलो लहरे, जगते, काली, बम्बै, गनाउने, उपल्लो मिठाई, तल्लो मिठाई, रातो टाउके, सेतो, सुपारे, कर्तविडे, मोइ, र हाडे गरी १८ जातका आँपका बोट पहिचान गरी तिनको नाम र चारित्रिक गुणसमेत बोटमा टाँसेका छन् ।

स्थानीय रैथाने जातको आँपका बीउ लोप हुने अवस्थामा पुगेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको नेपाल कृषि अनुवांशिक स्रोत केन्द्र जिन बैंक) ले पनि यसको संरक्षणमा चासो दिएको छ । अठारवटै आँपका बोटका प्रोफाइल तयार पारिने जिन बैंकले जनाएको छ । आँपको बगैँचा संरक्षणका लागि स्थानीय युवाको सक्रियतामा १३ सदस्यीय कार्यसमिति गठन गरी संरक्षण कार्य शुरु गरिएको हो ।
-रासस

प्रतिक्रिया