बाजुरा, ९ कात्तिक : भारतीय भूमिमा बाजुराका तीन युवा लुटिएका छन् भने एक सम्पर्कविहीन भएका छन् । लुटिनेमा भारत, सिम्लामा काम गरेर फर्किएका हिमाली गाउँपालिका–२ रुम्दीका रघु खड्का, जोल खड्का र नर खड्का छन् । साथीसँगै आएका निर्मल खड्का सम्र्पकविहीन भएको परिवारले जानकारी दिएको छ ।
घर फर्किने क्रममा हरिद्वारस्थित एक होटलमा बसेका बेला बेहोश बनाई आफूहरुसँग भएको रु दुई लाख र घर ल्याउन तयार पारिएको मालसामानसमेत लुटपाट गरेको युवालाई उद्धृत गर्दै वडाध्यक्ष धनरुप बुढाले जानकारी दिनुभयो । लुटिएका युवा आफन्तसँग पैसा मागेर एक सातापछि घर फर्किएका छन् । हराइरहेका निर्मलको खोजीमा सहयोग गरिदिन परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावासलगायत अन्य निकायसमक्ष आफन्तले अनुरोध गरेका छन् ।
-रासस