काठमाडौँ, ११ कात्तिक : नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का लागि गठित तयारी तथा व्यवस्थापन समितिको बैठकले आज विभिन्न उपसमिति गठन गरेको छ । युवा तथा खेलकूद मन्त्रालयमा समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको तेस्रो बैठकले उपसमिति गठन गरेको राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।
उपसमितिअन्तर्गत आवास व्यवस्थापनमा तेज गुरुङ, यातायात व्यवस्थापनमा शिव कोइराला, सुरक्षा व्यवस्थापनमा विज्ञानराज शर्मा, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ, खेलस्थल तयारीमा टासी घले र काठमाडौँ महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई तोक्ने निर्णय भएको छ । त्यसैगरी पोखरा महानगरपालिका स्रोत साधन परिचालन तथा समन्वयमा महानगर प्रमुख मानबहादुर जिसी र ललितपुर महानगरपालिका स्रोत साधन परिचालन तथा समन्वयमा महानगर प्रमुख चिरीबाबु महर्जनलाई संयोजक तोक्ने निर्णय भएको छ ।
त्यस्तै मस्कट, प्रतीकचिह्न, गीत र नारा मूल्याङ्कन तथा सिफारिश उपसमितिमा राखेपका सदस्य–सचिव विष्ट, निर्देशिका तथा कार्यविधि तयार गर्ने कार्यदलमा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र बजेट तयारी कार्यदलमा राखेपका सदस्य–सचिव विष्टलाई संयोजक तोकिएको छ । बैठकले यसअघि आगामी फागुन – चैतमा गर्ने भनिएको १३ औँ साग आगामी वर्ष भदौ–असोजमा सार्न सम्बन्धित निकायमा प्रस्ताव गर्ने निर्णयसमेत गरेको सदस्य–सचिव विष्टले जानकारी दिनुभयो ।
-रासस