मङ्गलवारे, १२ कात्तिक: इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नुभएको छ । स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्ने उद्देश्यले उहाँले रु १६ लाखको लागतमा आफ्नै घर छेउमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नुभएको हो ।
गाउँघरमा खेर गइरहेका जडीबुटीको प्रशोधन गरी बिक्री गर्ने उहाँले बताउनुभयो । यो उद्योगमा धूपी, धसिङ्गरेबाहेक मेन्या क्यामोमाइलजस्ता सुगन्धित जडीबुटीको प्रशोधन हुने उहाँको भनाइ छ । धूपीबाट उत्पादित तेल बाथ रोग र ढाड दुख्ने समस्या भएका व्यक्तिलाई उपयोगी हुने र मेन्थाको तेल दाँत, मुख र पेटमा समस्या भएकालाई उपयुक्त हुने बताइएको छ ।
-रासस