राँझा, १५ कात्तिक: नेपालगञ्ज औद्योगिक क्षेत्रबाट निस्किने धुुवाँ र ध्वनि प्रदूषण रोक्न उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलाशले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र शान्ति सिंहको संयुक्त इजलाशले बुधबार यस सम्बन्धी परमादेश जारी गरेको हो ।
अधिवक्ताद्वय लोकबहादुर शाह र पवनकुमार गुप्ताले गत जेठ १९ गते अदालतमा रिट निवेदन दर्ता गराएको थियो । नेपालगञ्ज औद्योगिक क्षेत्रको धुवाँ र ध्वनि प्रदूषणले स्वच्छ वातावरणमा स्वस्थ रहन पाउने हक अधिकारबाट नागरिक बञ्चित भएकाले नागरिकको वातावरणसम्बन्धी हक अधिकारको संरक्षण गर्न विपक्षीका नाउँमा निषेधाज्ञा र परमादेशको आदेशको मागसहित रिट दायर गरिएको निवेदक लोकबहादुर शाहले बताउनुभयो ।
नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके तथा उपरोक्त कार्यालयका प्रमुखविरुद्ध रिट दायर गरिएको उहाँले जानकारी दिनुभयो ।
-रासस