मन्त्रालय र आन्दोलनरत कर्मचारीबीच सहमति

admin

काठमाडौँ, १६ कात्तिक : सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालय र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सहमति भएको छ । सिंहदरबारमा आज भएको छलफलमा सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । सहमति पछि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घका अध्यक्ष भुपाल रसाइलीले जानकारी दिनुभयो ।

प्रवक्ता अधिकारीले गत भदौ ३ गतेको मन्त्रिपरिषद्को बैठकअनुसार मन्त्रालय, विभाग, आयोगलगायत सबै तहमा कार्यरत अस्थायी, करार कर्मचारीलाई नहटाउने र लामो अवधि काम गरेका कर्मचारीलाई एकमुष्ठ रकम दिन सरकारसँग पहल गर्ने सहमति भएको बताउनुभयो । अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले समन्वय गर्ने छ । सरकारले हटाएपछि उनीहरु मन्त्रालय अगाडि धर्ना बस्दै आएका थिए ।
-रासस

प्रतिक्रिया