डोटी, १८ कात्तिक: डोटी जिल्लाको सदरमुकाम सिलगढीमा सङ्घीय सरकार मातहत रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ । मुलुकभर २४ वटा डिभिजन कार्यालय स्थापना गरिएकामा सुदूरपश्चिम प्रदेशको डोटी, डडेल्धुरा र बैतडीमा सो कार्यालय स्थापना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका निमित्त प्रमुख नारायण रावतले दिनुभएको जानकारीअनुसार डिभिजन कार्यालयमध्ये डोटी कार्यालयले अछाम, बाजुरा र डोटी, डडेल्धुरा कार्यालयले डडेल्धुरा र बझाङ, बैतडी कार्यालयले बैतडी र दार्चुलामा सेवा दिनेछ ।
कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियन्त्रण, सचेतनामूलक कार्यक्रम, तालीम, अनुगमन निरीक्षण तथा कानूनी कारवाही, खाद्य पोषण लगायतका विषयमा सेवा दिने निमित्त प्रमुख रावतले जानकारी दिनुभयो । डिभिजन कार्यालयमा एक खाद्य अनुसन्धान अधिकृत, दुई प्राविधिक सहायक, एक कार्यालय सहयोगी रहने सो कार्यालयले जनाएको छ ।
साविकको जिल्ला कृषि विकास कार्यालय रहेको भवनमा स्थापना गरिएको उक्त कार्यालयको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गर्नुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा मन्त्री शाहले बजारमा अखाद्य वस्तुको बिक्रीवितरण तथा प्रयोगले जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले यो कार्यालयले अब अनुगमन गरी खाद्यवस्तु मात्रै बिक्रीवितरण गराउन लगाउनेमा आफू विस्वस्थ रहेको बताउनुभयो ।
डोटी जिल्लाको सदरमुकाम सिलगढीमा स्थापना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले कार्यक्षेत्रमा पारदर्शी, स्वच्छ र निष्पक्ष ढङ्गले सेवा दिन निर्देशन दिनुभयो ।
राजनीतिक स्थायित्वमा जोड
मन्त्री शाहले दिगो शान्ति र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा स्थानीय ‘सिलगढीमा आज आयोजना गरिएको द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरण’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री शाहले नयाँ विचार र प्रगतिका लागि द्वन्द्व आवश्यक भए पनि यसलाई सही किसिमले व्यवस्थापन गर्नसके मात्र द्वन्द्वले सकारात्मक परिणाम दिने धारणा व्यक्त गर्नुभयो ।
जिल्लास्थित विभिन्न स्थानीय तहका पदाधिकारी, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको गोष्ठीमा मन्त्री शाहले विगतबाट पाठ सिक्दै स्थानीय तह र अन्य सरोकारवालाले द्वन्द्व व्यवस्थापन र न्यूनीकरणमा सहयोग पुग्ने कार्य गर्न आग्रह गर्नुभयो ।
डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाले स्थानीय तह सञ्चालनमा आवश्यक कानून नहुँदा समस्या आएको बताएका थिए । तीन तहका सरकारबीच एकआपसमा समन्वय नहुँदा नयाँ द्वन्द्व उत्पन्न हुने खतरा रहेकाले यसलाई समयमा व्यवस्थापन गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका सुदूरपश्चिम प्रदेश संयोजक तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले कर्मचारी अभाव, कानून निर्माणमा समस्यालगायतका थुप्रै समस्या कायमै रहेकाले उक्त समस्याको निराकरणका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उक्त कार्यक्रममा द्वन्द्व व्यवस्थापन र न्यूनीकरण विषयमा दुई कार्यपत्र प्रस्तुत गरिएको थियो ।
-रासस