काठमाडौँ, १८ कात्तिक: नेपाल–चीन सम्बन्ध झल्काउने विविध तस्वीरको प्रदर्शनी शुरु भएको छ । नेपाल पर्यटन बोर्डले मासिकरुपमा आयोजना गर्दै आएको ‘ह्यास फोटो नेपाल’अन्तर्गत नेपाली तथा चिनियाँ फोटोग्राफरले खिचेका नेपाल तथा चीनका तस्वीरको प्रदर्शनी गरिएको हो भृकुटीमण्डपस्थित बोर्ड परिसरमा आयोजना भएको प्रदर्शनी चार दिनसम्म चल्नेछ । बोर्डले प्रत्येक अङ्ग्रेजी महीनाको पहिलो शुक्रबार प्रदर्शनी गर्दै आएको छ । पर्यटकीय गन्तव्य, संस्कृति, प्रकृति र धार्मिकस्थलसँग सम्बन्धित १६० तस्वीर प्रदर्शनीमा राखिएको छ । यस्तै प्रदर्शनी भक्तपुरमा लक्ष्मी पूजा र गोवद्र्धन पूजाको दिन गरिनेछ ।
प्रदर्शनीको चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक यिन कुन सङले र बोर्डका निर्देशक विमल कँडेलले उद्घाटन गर्नुभयो । दुई देशबीचको सम्बन्ध विस्तार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिनुभयो । बोर्डले विगत तीन वर्षदेखि नेपाल प्रवद्र्धनका लागि विविध क्षेत्रलाई समेटेर प्रदर्शनी गर्दै आएको छ । पहिलो चरणमा चीनको ग्वाञ्जाओमा हालै प्रदर्शन गरिएको थियो । दोस्रो चरणमा काठमाडौँमा गरिएको छ भने चाँडै बेइजिङमा प्रदर्शनी आयोजना गरिनेछ ।
फोटोमार्फत् पर्यटन अभिवृद्धि गर्ने उद्देश्यका साथ गएका वर्षबाटै ‘फोटो नेपाल’का शृङ्खला नेपाल तथा विदेशमा अयोजना हुँदै आएको छ । फोटोमा हिमाल, पहाड अनि तराईको समथर भूमि र त्यहाँ रहने नेपाली अनुहार हाँसो, जीवन शैलीका तस्वीर छन् । हरेक फोटो नेपालका प्रदर्शन शृङ्खला कुनै एक स्थान विशेषका फोटो, सभ्यता र जीवनशैली प्रतिविम्बित गर्ने हेतुले आयोजना गरिन्छ । अर्कोतर्फ विभिन्न देशका पर्यटक अनि फोटोग्राफरले यहाँ आउँदा खिचेका फोटोलाई पनि फोटो नेपालले विशेष स्थान दिएर प्रदर्शन गर्दछ, यसपटक चिनियाँ फोटोग्राफरका लेन्सका माध्यमबाट भक्तपुरलाई देखाइएको छ ।
भक्तपुरको जीवनशैली, संस्कार, सभ्यता, संरचना अनि नेवारी समाजका हरेक अव्यवलाई यसपटकको फोटो नेपालले पस्किने जमर्काे गरेको छ । यसका साथै चिनिँया फोटो पनि प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीले नेपाल र चीनबीचको सांस्कृतिक, ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्वास लिइएको छ ।
-रासस