काठमाडौँ, १९ कात्तिक: राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार प्रशिक्षण प्रतिष्ठानको साङ्गठनिक संरचना बनाई यससम्बन्धी पाठ्यक्रम निर्माण एवं प्रशिक्षण कार्य अगाडि बढाउने भएको छ । प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि सरोकारवालासँग सुझाव लिन आयोगद्वारा यहाँ आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले परम्परागत मानव अधिकारको धारणामा परिवर्तन हुँदै गएकाले यसका नयाँ आयामहरुलाई सम्बोधन गर्न प्रशिक्षण प्रतिष्ठानको आवश्यकता पर्ने बताउनुभयो ।
आयोगको मुख्य काम मानवअधिकारको संरक्षण र संवद्र्धन नै रहेको उल्लेख गर्दै उहाँले मानवअधिकारको संरक्षणका लागि सो प्रतिष्ठानले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । आयोगका सदस्य प्रकाश वस्तीले मानवअधिकार शिक्षामार्फत घरघरमा मानवअधिकारको संस्कृति विकासका लागि प्रशिक्षण प्रतिष्ठानको महत्व रहेको बताउनुभयो ।
आयोगका अर्का सदस्य सुदीप पाठकले सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह हुने सेवालाई मानवअधिकार मैत्री बनाउनका लागि तालीमको आवश्यकता पर्ने उल्लेख गर्दै तालीम सञ्चालनपश्चात् यसको प्रभावकारिता र उपयोगका बारेमा समेत अनुगमन गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो । आयोगका प्रशासकीय अधिकृत सम्झना शर्माले मानवअधिकार प्रशिक्षण प्रतिष्ठानको साङ्गठनिक संरचना एवं हालसम्म भएका कार्य र आगामी योजनाको सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो ।
अल्पकालीन र दीर्घकालीन तालीम पाठ्यक्रम विकास, प्रशिक्षार्थीको योग्यता र छनौट, विश्वविद्यालयसँग लिइने सम्बन्धन, आर्थिक एवं जनशक्तिसम्बन्धी स्रोतको व्यवस्थापनलगायत विषयमा सरोकारवालाबाट सुझाव लिएको छ । आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, नेपाली सेना, मानवअधिकार निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राष्ट्रिय महिला आयोग, गैरसरकारी संस्था महासङ्घ नेपाल, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, नेपाल अपाङ्ग महिला सङ्घ, शक्ति समूहलगायत सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको हो ।
-रासस