काठमाडौँ, १९ कात्तिक : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई जलवायु परिवर्तनसम्बन्धी ज्ञान विद्यालयस्तरदेखि नै दिनुपर्नेमा जोड दिनुभएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५ सार्वजनिक गर्दै आम जनसमुदायमा वातावरणमैत्री व्यवहार विकास गर्न तथा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि विद्यालय तथा शैक्षिक संस्थाको परिसरमा व्यापक हरियाली प्रवद्र्धन गर्न एक विद्यालय एक बगैँचा कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
मन्त्री पोखरेलले व्यापक हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले एक विद्यालय एक बगैँचा निर्देशिकाको मुख्य उद्देश्य भएको भन्दै प्रत्येक विद्यालयमा कम्तीमा एउटा बगैँचा निर्माण र विद्यालय सेवा क्षेत्रका सार्वजनिक स्वामित्वमा रहेको खाली जमीनमा वृक्षरोपण गरी हरियालीयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै विद्यालयमा पर्याप्त जग्गा नभए पनि गमलामा रोपेर भए पनि विद्यार्थीलाई सो विषयमा ज्ञान दिनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।
केन्द्रका महानिर्देशक बाबुराम पौडेलले वातावरण स्वच्छ र हरियाली बनाउनका लागि ‘एक विद्यालय एक बगैँचा’ भन्ने सोचले उक्त निर्देशिका सार्वजनिक गरिएको बताउनुभयो । निर्देशिकामा सबै विद्यालयले एक बगैँचा तथा बृहत् हरित क्षेत्र निर्माण कार्यक्रम अनिवार्यरुपमा सञ्चालन गर्नुपर्ने, प्रत्येक विद्यालयले विद्यालय परिसरभित्र कम्तीमा एक बगैँचा निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । निर्देशिकामा आठ परिच्छेद र एक अनुसूची छन् ।
-रासस