हरियाली नेपालगञ्ज अभियान सञ्चालन गर्न मुख्यमन्त्रीको आग्रह

admin

राँझा, २० कात्तिक: प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जलाई सुन्दर र सफा शहर बनाउन हरियाली नेपालगञ्ज अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

पुनर्निर्मित रानी तलाउको आज उद्घाटन गर्दै उहाँले पूर्वाधार निर्माण सँगसँगै नेपालगञ्जलाई सुन्दर बनाउन हरियाली अभियान सञ्चालन गर्न जरुरी भएको औल्याउनुभयो । उहाँले भन्नुभयो, “नेपालगञ्जलाई सुन्दर र सफा राख्न उपमहानगरको नेतृत्वले हरियाली अभियान सञ्चालन गर्नुहोस् त्यसमा सहयोग गर्न प्रदेश सरकार तयार छ ।” अत्यधिक गर्मी हुने नेपालगञ्जमा हरियाली अभियान सञ्चालन गर्न सके त्यसले केही शीतलता प्रदान गर्ने उहाँको भनाइ थियो । पर्यटकीय पूर्वाधारको व्यवस्थित सञ्चालनसँगै बाहिरबाट आउने पर्यटकलाई आत्मीय आतिथ्य गर्न सके धेरै लाभ लिन सकिने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

उहाँले बर्दिया निकुञ्जस्थित ठाकुरद्वारालाई व्यवस्थित गर्दै बाँके निकुञ्जलाई पर्यटकीय गन्तव्य बनाउन केन्द्रीय वन मन्त्रालयसँग पहल भइरहेको र नेपालगञ्ज–दिल्ली हवाई उडानको प्रक्रियासमेत अगाडि बढाइएको जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाका अनुसार २२ लाख ७८ हजार लागतमा रानी तलाउ पुनर्निर्माण गरिएको होे ।
-रासस

प्रतिक्रिया