काठमाडौँ, ३० कात्तिक: ‘कोलम्बो प्रोसेस’ को छैटौँ मन्त्रिस्तरीय परामर्श बैठकमा सहभागी हुन आउनुभएका विभिन्न मुलुकका मन्त्री तथा अन्य पाहुनाले आज ललितपुरको दरबार क्षेत्रलगायत सम्पदाबारे जानकारी लिनुभएको छ ।
अफगानिस्तान, कम्बोडिया, थाइल्याण्ड, बङ्गलादेश, भियतनाम, श्रीलङ्कालगायत मुलुकका मन्त्री र उच्च अधिकारीसहितको प्रतिनिधिमण्डलले केशवनारायण चोक, मू्ल चोक, सुन्दरीचोक र पाँचाँै शताब्दीमा बनेको हीरण्यवर्ण महाविहार अवलोकन गर्नुभएको थियो । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले पाहुनालाई पुरातात्विक महत्वको सम्पदाबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा अमूर्त सम्पदाअन्तर्गत ज्यापु÷ज्यापुनी नृत्य, कुमारी नृत्य र धा बाजाको जीवन्त प्रस्तुति गरिएको थियो । गत आवमा करिब एक लाख विदेशी पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेको जनाइएको छ ।
ललितपुरमा तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले बनाउन लगाएका सत्य, त्रेता, द्वापर र कलियुग झल्कने चार स्तुप छन् । रातो मत्छेन्द्रनाथको जात्रा परम्परा नरेन्द्रदेवले शुरु गरेकामा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लका पालामा पाटन दरबार १६ र १७ औँ शताब्दीमा निर्माण भएको हो । स्थानीय सुन्धारा, ललितपुर–२० स्थित पेमबहाल पोखरी, कृष्ण मन्दिरलगायत प्राचीन कला तथा कौशलबाट निर्माण गरिएको महत्वपूर्ण सम्पदास्थल ललितपुरमा छन् ।
विश्व कला परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घादा हिज्जाबी कदामीले यही कात्तिक २८ गते उक्त महानगरपालिकालाई विश्वको ३५ औँ ‘कला नगरी’ घोषणा गरी महानगरप्रमुख महर्जनलाई प्रमाणपत्र दिनुभएको थियो । परिषद्ले विश्वका मौलिक र परम्परागत कला भएका शहरलाई कला नगरी घोषणा गर्दै आएको छ ।
-रासस