आमा र धर्मपत्नीको स्मृतिमा अक्षयकोषको स्थापना

admin

सुर्खेत, १ मङ्सिर: आमा र धर्मपत्नीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको छ । सुर्खेतको चिंगाड गाउँपालिका–१ को एक परिवारले गरीब तथा जेहेन्दार छात्रालाई सहयोग गर्न गाउँको स्कुलमा अक्षयकोषको स्थापना गरेको छ । चिंगाडका स्थानीय पर्शुराम उपाध्यायले आमा निर्जला र दिवङ्गत हुनुभएकी धर्मपत्नी सुशीलाकुमारी बुढाथोकीको स्मृतिमा गरीब तथा जेहेन्दार छात्रालाई सहयोग गर्न अक्षयकोष स्थापना गर्नुभएको हो ।

स्थानीय नेपाल राष्ट्रिय आधारभूत विद्यालय काउलेमा ‘निर्जला देवी सुशीला स्मृति पुरस्कार अक्षयकोष’ स्थापना गरिएको पर्शुराम उपाध्यायले जानकारी दिनुभयो । विद्यालयको खातामा रहने गरी कोषमा रु एक लाख ३० हजारको अक्षयकोष स्थापना गरिएको छ । प्रत्येक वर्ष परिवारका तर्फबाट अक्षयकोषमा रु २५ हजारका दरले १० वर्षसम्म रकम थप गर्नेसमेत अक्षयकोष स्थापना गरेका उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक वर्ष आमा र धर्मपत्नीका नाममा श्राद्ध गर्नुको सट्टा रु २५ हजारका दरले रकम थप गरिनेछ । उक्त रकमको व्याजबाट प्रत्येक वर्ष दुई जना गरीब तथा जेहेन्दार छात्रालाई पुरष्कृत गर्ने र कक्षा ८ मा प्रथम हुने विद्यार्थीलाई पनि रकम प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया