काठमाडौँ, ९ मङ्सिर : सरकारले उद्योगको विकासका लागि सहकार्य गर्न निजी क्षेत्रलाई आग्रह गरेको छ । बाहिर गएर यो समस्या भयो, नीति आएन, सरकारले उद्योगमैत्री वातावरण बनाएन भनेर आरोप लगाउनुभन्दा वास्तविक समस्याका विषयमा छलफलका लागि आउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रलाई आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले व्यवसायीको उद्योगी मानसिकता नभई व्यापारिक मानसिकता रहेको भन्दै अरुले उत्पादन गरेको वस्तु बेच्नुभन्दा आफैँले उत्पादन गरेर बेच्ने वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेकाले छलफलमा आउन व्यवसायीलाई आग्रह गर्नुभयो ।
उद्योग दिवसका अवसरमा सो मन्त्रालयद्वारा आज राजधानीमा आयोजित ‘नेपालमा उद्योगको अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तक्र्रियामा मन्त्री यादवले निजी क्षेत्रसँग सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “नकारात्मक विषयलाई हटाएर सकारात्मक हुँदै सरकारलाई सहयोग गर्नुहोस्, कहाँकहाँ समस्या छन् हामी खोजेर समस्या समाधानमा लागौँ, नेपालमा वातावरण छैन भनेर मात्रै हुन्न, वातावरण बनाउने हामी मिलेर नै हो ।” उहाँले उद्योगको विकासमा देखिएका समस्या मन्त्रालयमा ल्याउन आग्रह गर्दै बाधा अवरोध हटाउन कुन मन्त्रालयमा जानुपर्छ आफू जान तयार रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उद्योगमा आधारित अर्थतन्त्रले मात्रै विकास सम्भव हुने भन्दै अर्थतन्त्रलाई कसरी स्वस्थ बनाउने भन्ने विषयमा सामूहिक प्रयास जरुरी रहेको औँल्याउनुभयो । अहिले नकारात्मक कुराका बीचबाट सकारात्मक कामको थालनी भएको जानकारी दिँदै सचिव घिमिरेले विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ भन्नुभयो ।
उद्योग सचिव यमकुमारी खतिवडाले नेपालमा आन्तरिक उद्योगलाई संरक्षण र विदेशी लगानीको सम्बन्धमा बनेको ऐन परिमार्जनका क्रममा रहेको जानकारी दिनुभयो । उहाँले आगामी फागुनसम्ममा विभिन्न ऐन परिमार्जन गर्नुपर्ने अवस्था आएकाले सुझाव दिन व्यवसायीलाई आग्रह गर्दै सरकार र निजी क्षेत्रबीचमा समन्वयको अभाव महसुस भएको बताउनुभयो । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपालमा व्यापार घाटा चुनौतीका रुपमा अगाडि आएकाले राम्रो नीति नआउँदासम्म वैदेशिक लगानी भित्रन नसक्ने दावी गर्नुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सरकारले अझै उद्योग खोल्ने वातावरण निर्माण गर्न नसकेको बताउनुभयो ।
महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी सुमित केडिया, कृष्ण अधिकारीलगायतले नेपालमा प्रतिष्पर्धी र उत्पादन क्षमता कमजोर रहेको भन्दै वर्तमान आवश्यकताअनुसारको नीतिको खाँचो रहेको औँल्याउनुभयो । घरेलु तथा साना उद्योग क्षेत्रका व्यवसायी रत्नेश्वरी श्रेष्ठ, धर्मराज शाक्य, प्रमिता बस्नेतलगायतले घरेलु उद्योगको संरक्षणमा सरकारले ध्यान नदिएको भन्दै यस्ता उद्योगको पनि स्तरोन्नति जरुरी छ भन्नुभयो ।
सो क्रममा हालको उद्योगको अवस्थाबारे उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी गराउनुभएको थियो । उद्योगको समस्याका विषयमा उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोपाल तिवारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विसं १९९२ मा उद्योग परिषद् स्थापना भएको दिन मङ्सिर ९ गतेलाई विसं २०७१ को सरकारी निर्णयअनुसार उद्योग दिवस मनाउन थालिएको हो ।
-रासस