काठमाडौँ, ९ मङ्सिर: सिन्धुपाल्चोकका ३५ वर्षीय रेशम पाण्डे २०७२ वैशाखमा गएको भूकम्पले घर भत्काइदिएपछि कसरी बनाउने भन्ने अन्योलमा हुुनुहुन्थ्यो । निर्माण सामग्रीको मूल्य बढेसँगै कम बजेटमा गुणस्तरीय घर बनाउने भन्ने कुराले उहाँलाई सधैँ सताइरहन्थ्योे । बिहीबारदेखि शुरु भएको भवन निर्माणसम्बन्धी प्रदर्शनीले उहाँको कौतुहलतालाई केही हदसम्म कम ग¥यो । “प्रदर्शनीको अवलोकनबाट घर कसरी बनाउनुपर्छ भन्ने कुरा थाहा पाएँ । अब घर बनाउने योजनामा छु”, पाण्डेले भन्नुभयो ।
पाण्डे जस्तै धादिङका रामबहादुर थापालाई पनि घर निर्माणबारे खासै जानकारी थिएन । हाल काठमाडौँ नयाँ बानेश्वरमा बस्दै आउनुभएका ४० वर्षीय पाण्डेले घर बनाउँदा निकै सास्ती खेप्नु परेको थियो । उहाँ भन्नुहुन्छ, “प्रदर्शनी निकै प्रभावकारी लाग्यो, यस्ता प्रदर्शनी निरन्तर भए उपभोक्ता कम ठगिने थिए ।” घर निर्माण सम्पन्न भए पनि वास्तुसम्बन्धी जानकारी नहुँदा त्यही बुझ्न आफू यहाँ आएको उहाँ बताउनुहुन्छ ।
घर बनाउँदा ख्याल गरेन भने पारिवारिकरुपमा निकै हानि हुने भएकाले वास्तुसम्बन्धी जानकारी दिने गरेको डा वासुदेव कृष्ण शास्त्रीले बताउनुभयो । “घर बनाउन कसरी सफल भइन्छ भन्नेबारे हामी परामर्श दिइरहेका छौँ, घर बनाइसकेको छ भने वास्तु दोष निवारण गर्ने सन्दर्भलाई जोडेर परामर्श दिइरहेका छौँँ”, उहाँले भन्नुभयो । यो प्रकृतिसँग सम्बन्धित ज्ञान भएको उहाँको भनाइ छ ।
सो प्रदर्शनीमा घर निर्माणसम्बन्धी जानकारी दिन मात्र नभई विभिन्न घरायसी प्रयोजनका लागि आवश्यक नयाँ टेलिभिजन, हिटर, एसीलगायतका सामग्री समेत राखिएको थियो । एक हजारभन्दा बढीलाई आफ्नो कक्षको अवलोकन गराउने उद्देश्य भए पनि पाँच हजारभन्दा बढीले अवलोकन गरेको नवीन कर्पाेरेट डिस्ट्रिब्युटरका प्रबन्धक दीपेन्द्र बाँस्तोलाले बताउनुभयो । “सोचेभन्दा राम्रै प्रतिफल पायौँ,” उहाँले भन्नुभयो, “चार दिनमा रु पाँच लाखको व्यापार भयो ।”
मेलामा राष्ट्रिय वाणिज्य बैंकले महिलालाई घर निर्माण गर्न गृहलक्ष्मी घर कर्जाका बारेमा परामर्श दिने काम गरेको थियो । घर कर्जालाई मात्र नभई बैंकले कृषि कर्जालाई पनि जोडेको बैंककी सहायक प्रबन्धक सुस्मा वाग्लेले बताउनुभयो । “सरकारले कृषिका लागि पाँच प्रतिशत अनुदानको व्यवस्था गरेको छ, यसप्रति नागरिकको आकर्षण बढको छ”, उहाँले भन्नुभयो । प्रदर्शनीमा कर्जाका विषयमा वृद्धवृद्धाले बढी चासो दिएको पाइयो ।
चार दिनसम्म चलेको उक्त प्रदर्शनीमा निर्माणबारे नयाँ प्रविधि, उत्पादन, रङ, सिमेन्ट, फर्निचर, पाइप र फिटिङ कक्षमा अवलोकन गर्नेको भीड लागेको मुख्य आयोजक ‘युथ कम्युनिटी फर नेप्लिज कन्स्ट्रक्सन’का अध्यक्ष आनन्द सुवेदीले जानकारी दिनुभयो । “प्रदर्शनीबाट सोचेअनुसारको उद्देश्य केही हदसम्म पूरा भयो”, उहाँले भन्नुभयो । प्रदर्शनीमा घर कहाँ कसरी बनाउने भन्ने प्राविधिक सहयोग लिन नागरिक नक्सा लिएर नै आएका कम्युनिटीका निवर्तमान अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताउनुभयो । बिहीबारदेखि शुरु भएको प्रदर्शनी आज सम्पन्न भएको छ । झण्डै ४० हजार जनाले प्रदर्शनीको अवलोकन गरेको आयोजक समितिले जनाएको छ ।
-रासस