आगलागीमा परी मृत्यु भएको घटनाप्रति मुख्यमन्त्रीद्वारा शोक व्यक्त

admin

भद्रपुर, १० मङ्सिर : मुख्यमन्त्री शेरधन राईले शिवसताक्षी–७ मा भएको आगलागीमा परी एउटै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । सताक्षीधाममा धार्मिक अनुष्ठान सोमबार उद्घाटन गर्ने क्रममा उहाँले दिवङ्गत भएका चारै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना दिनुभएको हो । “काखे बालकसहित एकै घरका चार जनाको आगलागीमा परी मृत्यु खबरले मलाई मर्माहत तुल्याएको छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेश सरकारले मृतकको परिवारलाई राहत प्रदान गर्नेछ ।”

कार्यक्रममा सङ्घीय सांसद एलपी सावा, नगरप्रमुख चन्द्रकुमार शेर्मा, प्रदेश सांसद झलकसिंह दर्लामी लगायतले सो घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको थियो । आगलागीमा परी मृत्यु भएका ३५ वर्षीय लक्ष्मण खनाल, उनकी पत्नी २९ वर्षीया राधिका , चार वर्षीया छोरी चन्दा (सुप्रिया) र चारमहीने छोरो टीकारामको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि आजै कनकाई नदीमा दाहसंस्कार गरिएको छ । आगलागीबाट रु ३५ लाख ४६ हजार बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।
-रासस

प्रतिक्रिया