टानद्वारा ६० लाख राहत वितरण

admin

काठमाडौँ, १० मङ्सिर : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्राका क्रममा ज्यान गुमाएका मजदुरका आश्रित परिवारलाई ६० लाख राहत उपलब्ध गराएको छ । टानले अन्नपूर्ण, माथिल्लो डोल्पा, सगरमाथा, मनास्लुलगायत क्षेत्रको पदयात्राका क्रममा मृत्यु भएका १२ जनाको परिवारलाई ५ लाखका दरले रु ६० लाख राहत वितरण गरेको हो ।

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को कोषबाट उक्त रकम उपलब्ध गराइएको टानका महासचिव आङपेम्बाट शेर्पाले बताउनुभयो । विभिन्न पदयात्राका क्रममा ज्यान गुमाएका दाकबहादुर आलेमगर, भीमबहादुर गुरुङ, जीवन लिम्बू, खेमबहादुर श्रेष्ठ, संसार गुरुङ, इन्द्रबहादुर गुरुङ, पेम्बा कुइश्याङ शेर्पा, छिरिङ भोटे, डिना आङजुक भोटे, फुर्वा भोटे, नेत्रबहादुर छन्त्याल र पेमदोर्जे शेर्पाको परिवारलाई आज एक कार्यक्रमबीच राहत रकम वितरण गरिएको हो । यसअघि टिम्सले ३३ जनालाई राहत दिइसकेको छ ।
-रासस

प्रतिक्रिया