सटर भाडामा लिने व्यवसायीले ‘सलामी’ वापत ठूलो रकम तिर्नुपर्ने बाध्यता कायमै

कृष्ण रोकाया

चितवन, ११ मङ्सिर : नारायणगढ बजार क्षेत्रमा खाली सटर भाडामा लिने व्यवसायीले ‘सलामी’ वापत ठूलो रकम तिर्नुपर्ने बाध्यता कायमै रहेको छ । घरधनीले खाली सटर दिँदा मात्रै होइन एक व्यवसायीले व्यापार छोडेर अर्काे व्यापारीलाई खाली ठाउँ दिँदासमेत ख्याती (गुडविल) को नाममा ठूलो सलामी रकम लिने गरेका छन् ।

 

घरबहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार विष्णु कँडेलले एक व्यवसायीले खाली सटर अर्काे व्यवसायीलाई दिँदा रु ६० लाखसम्म लिने गरेको बताउनुभयो । यसरी ठाउँ दिँदा घरधनीको समेत मिलेमतो भएर ठूलो रकम लिने गरेको उहाँले बताउनुभयो ।

नारायणगढको मिलनरोड, लायन्सचोकदेखि पुल्चोकसम्मको मुख्य सडक क्षेत्रलगायतका प्रमुख व्यापारिक ठाउँमा यस्तो प्रथा जारी रहेको कँडेलले बताउनुभयो । मिलनरोडमा सुनचाँदी व्यवसाय गर्दै आएका एक व्यापारीले सलामीको विकृति बढेको भन्दै पत्रकारलाई समाचार सम्प्रेषण गर्न आग्रहसमेत गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “व्यापारमा लगानी गर्नुपर्ने रकमभन्दा सलामी रकम धेरै भयो ।” मुख्य शहरी क्षेत्रमा एउटा सटरको मासिक भाडा रु ८० हजारसम्म पर्ने गरेको सञ्जु एयरकण्डिसनका सञ्चालकसमेत रहनुभएका कँडेलले बताउनुभयो ।

मञ्चका पूर्वअध्यक्ष प्रभात ढुङ्गाना घरधनीले नयाँ ठाउँ दिँदा रु २० लाखसम्म सलामी रकम लिने गरेको बताउनुभयो । पछिल्ला वर्षमा सलामी रकमलाई धरौटीका नाममा लिने गरेको उहाँले बताउनुभयो । खाली ठाउँलाई धेरै रकम तिरेर लिनुपर्दा नयाँ व्यवसाय गर्न चाहने मर्कामा पर्ने गरेको उहाँको भनाइ छ ।

मञ्चका अध्यक्ष पवित्रा जोशीले यसरी अस्वाभाविक रुपमा घरधनी र व्यवसायीले रकम लिनु राम्रो नभएको बताउनुभयो । यसले विकृति पैदा गर्ने भन्दै उहाँले स्वस्थ ढङ्गबाट व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले आधिकारिक रुपमा यस्ता विषय नआउने भए पनि सुन्नमा आएको बताउनुभयो । यो विकृति भएको भन्दै उहाँले पैसा दिने र लिने दुवै दोषी रहेको बताउनुभयो । यसलाई प्रोत्साहन गर्दै लगिएको भन्दै उहाँले भविष्यमा ठूलो समस्या आउन सक्ने बताउनुभयो ।

व्यवसायी–व्यवसायीका बीचमा ठाउँको कारोवार हुँदा पछि लिनेलाई घरधनीले ठाउँ दिन अस्वीकार गरेमा लिने व्यवसायी फस्ने समस्या आउन सक्ने प्रधानको भनाइ छ । महँगो सलामी र भाडाको मार भने उपभोक्ता र राजश्वमा परेको छ । यस्ता व्यवसायीले सलामी रकम, बहालकर राजश्वमा देखाउँदैनन् । न्यून भाडा देखाएर कर तिर्दै आएको पाइन्छ । यसमा घरधनीसँग उनीहरुको सहमति भएको हुन्छ । लाखौँ रुपैयाँको सलामी र महँगो भाडा असुल्नका लागि व्यवसायीले उपभोक्तासँग चर्काे मूल्य असुल्ने गरेको आरोप लाग्ने गरेको छ । रासस

प्रतिक्रिया