वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग, भवन निर्माण रोक्का

admin

कञ्चनपुर, १४ मङ्सिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ जुडामा निर्माण भइरहेको वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेर बनाउन लागेको पाइएपछि निर्माण कार्य रोक्न लगाइएको छ । सम्झौताविपरीत ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्रीको प्रयोग गरी भवन निर्माण गरिरहेको पाइएपछि नगरपालिका कार्यालयले रोक्न लगाएको हो ।

रु ७३ लाख १३ हजार आठ सय चारको लागतमा तीन कार्यालय कक्ष, सभाहल, स्नानगृहसहितको भवन निर्माण गर्न नागार्जुन कन्ट्रक्सन महेन्द्रनगरले घटाघटमा रु ५३ लाख ७७ हजार ५३३ मा मूल्य अभिवृद्धि करसहित ठेक्का सकार गरेको थियो । भवनमा गुणस्तरहीन इँटा, स्थानीय खोलाको माटो मिसिएको बालुवा र मापदण्डविपरीत गिटीको प्रयोग गरेको पाइएको थियो । शौचालयको खाल्डोमा समेत गुणस्तरहीन इँटाको प्रयोग गरी प्लाष्टर कार्य पूरा गरेको छ ।

नगरपालिका कार्यालयको भवन निर्माण हेर्ने कर्मचारीको मिलोमतोमा निर्माण व्यवसायीले भवन निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेको स्थानीयवासीको आरोप छ । भवन निर्माणका लागि राम्रो इँटा हेरेको नागार्जुन कन्ट्रक्सनका ठेकेदार जीतेन्द्र चन्दले भन्नुभयो, “इँटाभट्टावालाको लापर्वाहीले कमसल खाले इँटा पठाइदिएछ गल्ती भएको छ, पुनःगुणस्तरीय इँटाको प्रयोग गरी भवन निर्माण गर्न प्रतिबद्ध छु ।”

दुई तीन दिन अन्यत्रैको कार्यमा व्यस्त भएकाले भवन निर्माणको कार्य हेर्न नपाएको नगरपालिकाका इञ्जिनीयर लोकेन्द्र भट्टले भन्नुभयो, “ठेक्कावापतको रकम ठेकेदारलाई अहिलेसम्म दिएका छैनौँ, पुनःनिर्माण गरी गुणस्तरयुक्त कार्य गरे मात्रै भुक्तानी हुन्छ”, उहाँले भन्नुभयो । वडा अध्यक्ष जगतबहादुर सिंहले निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरेकाले गुणस्तरहीन सामग्री पूरै हटाएर पुनःठेकेदारले गुणस्तरयुक्त कार्य गर्न लगाउने बताउनुभयो । पुनः गुणस्तरयुक्त कार्य नगरे कालोसूचीमा राख्नका लागि सिफारिश गरिने उहाँले बताउनुभयो ।

नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले निर्माण भइरहेको भवनको अनुगमन गर्दा मापदण्डविपरीत भवन निर्माण भइरहेको पाइएको बताउनुभयो । “गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएकाले निर्माणको कार्य रोक्न लगाएको छु”, उहाँले भन्नुभयो, “कमसल सामग्री राखेर निर्माण गरिएको भवन पूरै तोडेर पुनःनिर्माण गर्न भनेको छु । त्यो नभए ठेकेदारमाथि कानूनबमोजिमको कारवाही अगाडि बढाइन्छ ।” भवन निर्माणको कार्य असोजदेखि प्रारम्भ गरिएको थियो । भवन फागुन १५ गतेभित्र रङरोगनसहित निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।
-रासस

प्रतिक्रिया