काठमाडौँ, १५ मङ्सिर: चित्रकारले गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिरका दृष्यलाई चित्रमा उतारेका छन् । ‘शनिवासरीय स्थलगत चित्रकला कार्यशाला’ अन्तर्गत आज भएको कार्यक्रमा १७ जना चित्रकारले बज्रबाराही मन्दिर र त्यस आसपासका प्रकृतिक सुन्दरता चित्रमा उतारेको कार्यशालाका अभियानकर्मी दिवेश प्रधानले जानकारी दिनुभयो ।
स्थानीय चित्रकारको संस्था वादे कला स्टुडियोको समन्वयमा भएको कार्यशालामा पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले सो क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वका बारेमा जानकारी गराउनुभएको थियो । कलाकारले यसअघि हनुमानढोका, ललितपुरको दरबार स्क्वायर, भक्तपुर थिमि टेकु, गुह्श्वेरी, खोकना, चाँगुनारायण, पुरानो गुहेश्वरी, चोभार पुगेर यसैगरी चित्रकला कार्यशाला सम्पन्न गरिसकेका छन् । सो क्रममा वादे कला स्टुडियोका सुरेम देशारले अग्रज कलाकारको सहभागितामा भएको चित्रकला कार्यशाला हुनु महत्वपूर्ण भएको बताउनुभयो ।
यस्तै मोफसलमासमेत चित्रकारले स्वतःफूर्तरुपमा चित्रकला कार्यशाला थालेको प्रधानले जानकारी दिनुभयो । दुई महीनाअघि प्रधान, राकेशचन्द्र श्रेष्ठलगायतका चित्रकारले शुरु गरेको कार्यशाला पछिल्लो समयमा प्रभावकारी हुँदै गएको छ । फेसबुक समूहमार्फत मतदानका आधारमा छनोट हुने स्थानमा पुगेर उनीहरुले हरेक आज स्थलगत चित्रकला कार्यशाला आयोजना गर्दै आएका छन् । प्रकृतिसँग रमाउँदै चित्र बनाउँदा चित्रमा निखारता आउने र कलाकारले नयाँ कुरा सिक्न पाउने भएकाले कार्यशाला सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।
-रासस