मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

admin

धनगढी, १७ मङ्सिर : कैलालीको टीकापुर नगरपालिकामा गएराति भएका दुई मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । टीकापुर—खक्रौला सडकको खैरीपुर खण्डमा ‘अन टेस्ट‘ मोटरसाइकल गोरुगाडामा ठोक्ँिकदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–७ का ३१ वर्षीय जीवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमाल छन् । दुर्घटनाबाट घाइते सोही ठाउँका पवन पाण्डेयलाई थप उपचारका लागि टीकापुर अस्पतालबाट कोहलपुर मेडिकल कलेज सिफारिश गरिएको छ ।

तीन जना सवार उक्त अन टेस्ट मोटरसाइकल गोरुगाडासँग ठोक्किन पुगेको प्रहरी निरीक्षक कमलबहादुर बिष्टले बताउनुभयो । मदिरा सेवन गरेर मोटरसाइकल चलाएका कारण सो दुर्घटना हुन पुगेको बताइएको छ । टीकापुर नगरपालिकाकै बन्दीपुर सडक किनारमा रोकिराखेको से १ त २९१४ नंको ट्र्याक्टरको ट्रलीमा ठोक्किँदा ६प१९४१ को मोटरसाइकलका चालक टीकापुर–४ का २१ वर्षीय आशिस चौधरीको मृत्यु भएको छ । दुर्घटनाबाट घाइते चौधरीलाई कोहलपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया