प्रतिबन्धित औषधि जफत

admin

बनियानी, १७ मङ्सिर : झापाको अर्जुनधारा नगरपालिकाको बजार अनुगमन टोलीले आज खुदुनाबारी र आइतबारे बजार क्षेत्र अनुगमनका क्रममा प्रतिबन्धित औषधि जफत गरेको छ । नगरपालिकाका स्वास्थ्य संयोजक एवम् अनुगमन सदस्य मुकुन्द बस्नेतका अनुसार नेपाल औषधि विभागमा दर्ता नभएका मेडासलिक स्किन साइन, इलोसन इएचटीलगायत प्रतिबन्धित औैषधि जफत गरिएको छ । झापाको बिर्तामोड र भद्रपुरमा व्यवसाय गर्दै आएका धर्म साहको पसलबाट उक्त प्रतिबन्धित औषधि फेला परेको हो ।

अनुगमन टोलीले म्याद गुज्रेका खाद्यवस्तु जफत गरेको छ । नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक कमला खतिवडाको नेतृत्वको टोलीले खुदुनाबारी बजार क्षेत्रका ४२ पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा व्यवसाय दर्ता, नवीकरण गरे÷नगरेको, राजश्व तिरे÷नतिरेको र म्याद गुज्रेको अखाद्य वस्तु, नापतौलको प्रमाणपत्र, स्थायी लेखा प्रमाणपत्र, मासुको गुणस्तर, व्यवसायी र घरधनीबीचको सम्झौतापत्रलगायत विषयमा अनुगमन गरिएको उपप्रमुख खतिवडाले जानकारी दिनुभयो ।

“अधिकांश पसलमा मूल्यसूची, साइनबोर्ड, भाडामा सम्झौता नभएका पाइयो”, उहाँले भन्नुभयो, “म्याद गुज्रिएको औषधिसमेत फेला परेको छ, व्यवसायीलाई सचेत गराउनाका साथै कारवाही अघि बढाएका छौँ ।” नियम–कानूनबमोजिम व्यवसाय सञ्चालन गर्न व्यापारी–व्यवसायीलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
-रासस

प्रतिक्रिया