बालविकास केन्द्रको भवन हस्तान्तरण

शर्मिला गुरुङ

चौतारा २२ मङ्सिर : सिन्धुपाल्चोकको विभिन्न पालिकामा टुकी सङ्घ सुनकोशीको व्यवस्थापनमा सेभ द चिल्ड्रेनले रु तीन करोड ३० लाखको लगानीमा १५ वटा बालविकास केन्द्रको भवन निर्माण गरेको छ ।

सरकारी मापदण्डअनुसार खानेपानी शौचालय, सरसफाइ, कक्षा कोठाभित्र खेल्ने सिक्ने सामग्री र सुत्ने व्यवस्थासहित छ वटा सिकाइ क्षेत्र रहेको टुकी सङ्घका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो ।

नव निर्मित भवन चौतारा साँगाचोकगढी नगरपालिकामा सात, इन्द्रवती गाउँपालिकामा चार, सुनकोशी गाउँपालिकामा एक र वलेफीमा तीनसहित १५ वटा रहेका छन् । सो केन्द्रमा तीन वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई सिकाइको व्यवस्था गरिनेछ ।

नवनिर्मित भवनको सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई हिजो हस्तान्तरण गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

त्यसैगरी संस्थाकै आर्थिक तथा प्राविधिक सहयोगमा चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत साँगाचोकस्थित जनविकास माविको १२ कोठे भवन र बलेफी गाउँपालिकाअन्तर्गत चारवटा आधारभूत विद्यालय भवनको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । रासस

प्रतिक्रिया