पुनर्निर्माणमा स्थानीय सरकारको सहभागितामा जोड

admin

ललितपुर, २४ मङ्सिर: भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत संस्थाका प्रतिनिधि, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, स्थानीय निकायका जनप्रतिनिधि र नागरिक समाजलगायतले पुनर्निर्माणमा स्थानीय सरकारको सहभागितामा जोड दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाईअन्तर्गतको जिल्ला एकाईले आज गोदावरीमा आयोजना गरेको ‘भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी अभिमुखीकरण समीक्षा गोष्ठी’ कार्यक्रमका सहभागीले प्राधिकरणले स्थानीय सरकारसँग समन्वय बढाउँदा कामले गति लिने बताएका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग प्राधिकरणले समन्वय बढाउन चाहेको बताउनुभयो । प्राधिकरणले स्थानीय तहसँग सम्झौतापत्रमा हस्ताक्षर गरेर नै सहकार्य गरिरहेको छ । प्राधिकरणले स्थानीय तहमा नै हाजिर गर्ने गरेर प्राविधिक र सामाजिक परिचालक पठाउने तयारी गरेको छ । उहाँले भन्नुभयो, “प्राधिकरण सीमित समयका लागि भए पनि पछिसम्म त्यहाँ रहने भनेको जनप्रतिनिधि नै हो ।” सांसद पम्फा भुषालले नगरका भित्री भागमा बसोबास गर्दै आएका भूकम्पपीडितका समस्या फरक रहेको बताउनुभयो । बाहिर जिल्लाबाट सरुवा भएर आएका कर्मचारीले यहाँको समस्या बुझ्न नसक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कर्मचारीले यहाँको परम्परागत बस्ती अनि यहाँको सामाजिक र आर्थिक पाटो बुझेर मात्रै काम गर्नुपर्छ ।”

सांसद कृष्णलाल महर्जनले कानून जनतालाई अप्ठेरो बनाउन नभएर सहज बनाउन भएको बताउनुभयो । सांसद नवराज सिलवालले पुनर्निर्माणको काममा भइरहेको ढिलाइले गर्दा जनताले दुःख पाइरहेको बताउनुभयो । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले स्थानीय सरकारसँग त्यस क्षेत्रमा भएका सबै पुनर्निर्माणका काममा समन्वय गर्नुपर्ने आवश्यकता औँलाउनुभयो । कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङतानले पुनर्निर्माणको सबै जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्ने आवश्यकता औँलाउनुभयो ।

ललितपुर महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरिशचन्द्र लामिछानेले लाभग्राहीले प्रबलीकरणलाई सामान्य मर्मतका रुपमा मात्रै बुझिरहेको बताउनुभयो । जिल्ला आयोजना एकाईका प्रमुख वीरबहादुर रावलले शहरी क्षेत्रमा सडक मापदण्डका कारण पुनर्निर्माण अघि बढ्न नसकेको बताउनुभयो ।
-रासस

प्रतिक्रिया