जनतान्त्रिक मोर्चाले बुझायो हतियार

admin

सप्तरी, २६ मङ्सिर: जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अधिकांश नेताले आज राजविराजमा हतियार बुझाउँदै राजनीतिको मूल धारमा आउने निर्णय गरेका छन् । क्रान्तिकारीका अविनाश भनिने उपेन्द्र यादवसहित ११ जना केन्द्रीय सदस्यले वार्ता टोलीसमक्ष १३ थान हतियार बुझाउँदै राजनीतिको मूलधारमा आएको सार्वजनिक गरेका हुन् । वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेय, सदस्य सुरेश आले मगर र ताराकान्त चौधरीलाई अविनाश नेतृत्वको समूहले १० थान कटुवा पेस्तोल, एक थान लामो नाल भएको कटुवा, दुई थान रिभल्बर, १२ थान गोली र एक थान डेटोनेटर बुझाएका छन् ।

अविनाशसहितले राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित सुरक्षा सम्बद्ध निकायका प्रमुख, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सञ्चारकर्मी र अधिकारकर्मीको उपस्थितिमा हतियार बुझाउनुभयो । गोइत नेतृत्वको १५ सदस्यीय केन्द्रीय कमिटीका ११ जनाले गत जेठ ५ गते राजनीतिक वार्ता टोलीसँग वार्ता गर्ने निर्णय गर्दै गत असोज ६ गते लहानमा ६ बुँदे सहमति गरेका थिए ।

अविनाशसहित प्रदीप भनिने नथुनी यादव, रोशन भनिने रामपुकार साह, कमल भनिने योगेन्द्र यादव, भगत सिंह भनिने भवानीप्रसाद अगरिया यादव, बद्री यादव, राहुल भनिने मो सफिर, सञ्जय भनिने देवेन्द्र खड्गा, सञ्जयकुमार यादव, शङ्कर भनिने सञ्जयकुमार यादव र फूलबाबु भनिने फूलकुमार यादव सार्वजनिक भएका हुन् ।

वार्ता, संवाद र सहमतिबाटै आफ्ना माग पूरा हुने र नेपाली जनताको चाहनानुरुपको संविधान संशोधन भई तराई क्षेत्रको समेत विकास निर्माण हुनेमा अविनाशले विश्वास व्यक्त गर्नुभयो । हतियार बुझ्दै संयोजक पाण्डेयले कारागारमा थुनामा रहेका बन्दीको रिहाइबाहेकका अन्य माग सहजै पूरा हुने खालका रहेका र बन्दीका विषयमा कानूनी प्रक्रिया विचार गर्दै राज्यले विशेष निर्णय गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

संयोजक पाण्डेयले २५ समूहका गतिविधि शून्य रहेको र संविधान निर्माणपछि कतिपय नेता र कार्यकर्ता राजनीतिक मूलधारमा आई नयाँ राजनीतिक जीवन शुरु गरेकाले बाँकी २१ समूहसँग वार्ता भई शान्ति प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया