बिरामी हुँदा र पालो दिन मात्रै उपसभामुख किन ?

शर्मिला गुरुङ

काठमाडौँ, २ पुस : प्रदेशसभाका उपसभामुखले भूमिकामा मात्र नभएर मर्यादाक्रममा पनि आफूहरुलाई अन्याय भएको गुनासो गर्नुभएको छ ।

यद्यपि, उपसभामुख ठूलो जिम्मेवारीको पद हो, वृत्ति विकासका लागि यो ठूलो अवसर र चुनौतीका रुपमा लिएका छौँ,” सङ्घीय संसद् सचिवालयले आज आयोजना गरेको अन्तरक्रियामा उहाँहरुले भन्नुभयो ।

सभामुख बिरामी परेको बेला र पालो दिन पर्दा मात्रै उपसभामुखलाई सभा सञ्चालन गर्न दिने अभ्यास सुधार्नपर्ने उहाँहरुको भनाइ थियो । “ जनताका कुरा अरू सांसद जसरी कड्केर राख्न पनि पाइन्न, यो कार्यकाल सकिएपछि अहिलेकै भूमिकाले जनतामा जाँदा बास पनि पाइन्न कि जस्तो छ,” उपसभामुखहरुको सामूहिक धारणा थियो ।

कतिपय सार्वजनिक कार्यत्रममा सहभागी हुने क्रममा सम्बोधन त परै जाओस् बस्ने कुर्सीसम्मको व्यवस्था नहुँदा असजिलो अनुभव लागेको घटना सुनाउँदै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले भन्नुभयो, “बिरामी र आवश्यकता परेको बेला मात्र भूमिका किन !”

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले मुलुकका सातै प्रदेशसभामा महिलालाई मात्र उपसभामुखको जिम्मेवारी दिए पनि आफूहरुले यसलाई उपलब्धिकै रुपमा लिएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “बोल्न पनि नमिल्ने, भूमिका पनि नहुने, मूर्ति बसेजस्तो बसिरहनुपर्ने, बजेट पनि नहुने रहेछ, अनुभवको कमीले होला कडा रुपमा प्रस्तुत हुन सकिएको छैन ।”

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले विगतमा सक्रिय जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा यो पद पाएपनि उपसभामुखमा रहँदा खुम्चिएको अनुभव भएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “विशिष्ट भनिए पनि आफूले नियुक्त गरेको प्रदेश सचिवभन्दा उपसभामुखको मर्यादा क्रम तल छ, धेरै जिम्मेवारी खोज्दा सभामुखले अन्यथा लिन सक्ने अवस्था आउन सक्छ, खुम्चिएर बस्दा वृत्ति विकासमा अवरोध हुन पुग्दछ ।”

सो अवसरमा प्रदेश नं ७ का उपसभामुख निर्मला जोशी, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती, प्रदेश नं ५ का उपसभामुख कृष्णा थारू, प्रदेश नं २ का उपसभामुख उमा देवले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयका साथ कानून निर्माण गरेर विकास र समृद्धि हासिल गर्ने कार्यक्रम बनाएर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । महिलासँग सम्बन्धित समाचार सानो, भित्री पातामा नदेखिने स्थानमा छाप्ने प्रवृत्तिमा सुधार ल्याउन सुझाव दिँदै उहाँहरुले सभ्य र समतामूलक समाज निर्माणमा योगदान पुग्ने ढङ्गबाट समाचार सम्प्रेषण गर्न पत्रकारलाई सुझाव दिनुभयो ।

प्रदेश उपसभामुखका जिज्ञासाको जवाफ दिँदै प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाङफे र राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले विषयवस्तुप्रति अद्यावधिक, मिडिया मैत्री, सक्रिय र ऊर्जाशील भएर काम गर्न उहाँहरुलाई सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट, पत्रकार टङ्क पन्त, संसदीय पत्रकार समाजका अध्यक्ष नारायण काफ्लेले विषयवस्तुको ज्ञान, समयमै सूचना उपलब्ध गराउने तत्परता र मिडिया मैत्री भावना राख्ने जो कोहीलाई सञ्चारमाध्यममा स्थान पाउन कुनै कठिनाइ नरहेको बताउनुभयो । नारायण न्यौपाने, रासस

प्रतिक्रिया