काठमाडौँ, ४ पुस : पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले राससलाई जानकारी दिनुभयो । “साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो”, श्रीमती गिरीले भन्नुभयो ।

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुग्नुभएको थियो । विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री डा गिरी बन्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गर्ने भनिए पनि उहाँका परिवारले मानेका थिएनन् । मङ्गलबार बिहान ९३ वर्षको उमेरमा उहाँको निधन भएको थियो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा डा गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बन्नुभएको थियो । नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गर्नुभएका गिरी विसं २०१७ पुस १ गतेको शाही कदमपछि पञ्चायतमा सक्रिय हुनुभएको थियो ।
विद्युतीयमा नौ हजार शव जलाइए
विद्युतीय शवदाहगृहमा पूर्वमन्त्री एवं न्यूरो सर्जन डा उपेन्द्र देवकोटा र नेपाली नागरिकता लिनुभएकी बारबरा एडम्सलगायतको अन्त्येष्टि भएको थियो । विद्युतीय शवदाह गृहमा हालसम्म नौ हजार २५१ को शव जलाइएको कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले राससलाई जानकारी दिनुभयो ।
विसं २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाह गृह सञ्चालनमा आएको हो । तीन वटा चेम्बर भए पनि हाल दुई वटामात्र चलिरहेको कोषले जनाएको छ । दुई वटा चल्दा पनि आलोपालो गर्नुपर्छ । अर्को चेम्बर चलाउन टेण्डर आह्वान गर्ने प्रक्रिया शुरु भएको छ । विद्युतीय शवदाह गृहमा आकर्षण बढे पनि पालो कुर्नुपर्ने समस्या रहेको जनाइएको छ । विद्युतीय यन्त्रबाट एक घण्टामै दाह संस्कार सकिन्छ । दाउराबाट संस्कार गर्दा चार घण्टा लाग्छ । विद्युतीय शवदाह गृह वातावरणमैत्री हुन्छ ।
-रासस