काठमाडौँ, पुस ५ : अमेरिकामा रही अङ्ग्रेजी भाषामा कलम चलाउनु हुने साहित्यकार सम्राट उपाध्यायले आज यहाँ विद्यार्थीलाई साहित्य सृजनाका शीपबारे प्रवचन दिनुभयो । अमेरिकाको इण्डियानास्थित इण्डियाना युनिभर्सिटीमा प्राध्यापन गर्नुहुने साहित्यकार उपाध्याय हाल नेपालको भ्रमणमा हुनुहुन्छ ।

गोदावरी एलुम्नाई एशोसिएशनको आयोजनामा यहाँ भएको कार्यक्रममा उहाँले पूर्वज्याभेरियनका नाताले सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कूलका विद्यार्थीलाई साहित्य सिर्जनाका आफ्ना अनुभव र शिक्षण गर्दाका अनुभवबारे प्रवचन दिनुभएको एलुम्नाईका अध्यक्ष भूअरुण मल्लले जानकारी दिनुभयो ।
यसबाट नयाँपुस्तालाई परम्परागतबाहेक नयाँ क्षेत्रमा पनि अघि बढ्न र सफल बन्न प्रेरणा मिल्ने उहाँले बताउनुभयो । नेपाली साहित्य के विश्व साहित्यको स्तरमा पुग्न सक्छ त ? भन्ने राससको प्रश्नमा साहित्यकार उपाध्यायले नेपाली साहित्यको आफ्नै सामथ्र्य र शैली भएको तर अङ्ग्रेजी अनुवाद नभैकन यही स्तरको भन्न नसकिने बताउनु हुँदै नेपाली साहित्यको अङ्ग्रेजी अनुवाद भने त्यति धेरै हुन नसकेको स्वीकार गर्नुभयो ।
आफूले पनि शुरुमा मोहन कोइरालाका केही कविता अनुवाद गरेको तर हाल भने आफ्नै मौलिक कृतिमा काम गरिरहेको बताउनुभयो । आफ्नो उद्देश्य नयाँपुस्तालाई आफ्ना अनुभव सुनाई श्रृजनशील लेखनलाई प्रभावकारी बनाउन सघाउने रहेको पनि उहाँले बताउनुभयो ।
उपाध्यायले लेख्नु भएको कथा कृति ‘अरेस्टिङ गड इन काठमाण्डु’ले सन् २००१ मा अमेरिकाको ह्वाइटिङ अवार्ड प्राप्त गर्न सफल भएको जानकारी दिनुभयो । उहाँको कथा सङ्ग्रह ‘रोयल गस्ट’ले सन् २००६ मा एशियन अमेरिकन लिटररी अवार्ड पाएको थियो । उहाँका अन्य कृतिहरु ‘गुरु अफ लभ’, ‘वुद्घज अर्फन्स’ र ‘द सिटी सन’ उपन्यास तथा ‘म्याड कन्ट्री’ (कथासङ्ग्रह) रहेका छन् ।
अङ्ग्रेजी साहित्यमा कलम चलाउने नेपाली कमै भएको बताउँदै उहाँले तर हालैका दिनमा प्रवीण अधिकारी, रवि थापा लगायतका युवाले अङ्ग्रेजीमा लेख्नुभएका कृति बजारमा आउन थालेका जानकारी दिनुभयो । पछिल्ला दिनमा नेपालीबाट अङ्ग्रेजीमा अनुवाद पनि बढ्दै गएकाले नेपाली साहित्यले पहिचान पाउँदै जाने उहाँले बताउनुभयो । एजुकेशनल बुक हाउस, जमलका रमण राउतले अङ्ग्रेजी साहित्यमा कलम चलाउने साहित्यकारको सङ्ख्या बढ्दै गएको र पछिल्ला दिनमा प्रणय राणा, श्रद्घा घले आदिका कृति पनि बजारमा आएका बताउनुभयो । उहाँले शुरुका दिनमा उपाध्यायको कृति ‘अरेस्टिङ गड इन काठमाण्डु’ले पनि काठमाडौँमा राम्रै बजार पाएको बताउनुभयो ।
-रासस