संयुक्त राष्ट्रसङ्घ, अमेरिका, ७ पुस (रासस/एएफपी) : संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले शुक्रबार युद्धग्रस्त यमनमा जारी युद्धबिरामको अवस्था अनुगमन गर्न पर्यवेक्षकहरु पठाउने प्रस्ताव पारित गरेको छ । उक्त युद्धबिराम यमनको रणनीतिक महत्वको बन्दरगाह शहर होडेडामा लागू भएको छ ।

बेलायतको मस्यौदा प्रस्तावमाथि राष्ट्रसङ्घको १५ सदस्यीय सुरक्षा परिषदमा लामो छलफल भएको थियो । मतदान हुनुअघि प्रस्तावमा धेरैपटक संशोधन गरिएको थियो ।
बैठकले गत साता स्वीडेनमा राष्ट्रसङ्घको मध्यस्थतामा भएको वार्ताको नतिजालाई स्वीकार गरेको छ । यमनका युद्धरत पक्षहरुले होडेडामा युद्धबिराम गर्ने सहमति जनाएका थिए । मङ्गलबारदेखि कार्यान्वयनमा आएको युद्धबिरामको सहमति बमोजिम होडेडाबाट लडाकूहरुलाई फिर्ता गर्न थालिएको छ । यमनमा सहायता र खाद्यान्न यही होडेडा हुँदै भित्रिने गर्दछ ।
भोकमरिको जोखिममा रहेका लाखौं यमनी नागरिकका लागि होडेडा बन्दरगाह मुख्य आधार हो । साउदी नेतृत्वको सरकारी फौज र हुथी विद्रोहीबीचको सशस्त्र द्वन्द्व अन्त्य गर्ने यो एउटा महत्वपूर्ण अवसर पनि हो । यमनमा चार वर्षदेखि सशस्त्र युद्ध जारी छ ।
साथै एकअर्काले कब्जामा राखेका झण्डै १५ हजार व्यक्ति मुक्त हुने सहमति भएको छ ।
होडेडाका लागि भएको युद्धबिराम सम्झौताको सबै पक्षले पूर्ण कार्यान्वयन गर्नेमा सुरक्षा परिषदले विश्वास व्यक्त गरेको छ । राष्ट्रसङ्घको प्रस्तावमा युद्धबिरामको अनुगमन शुरु गर्न नेदरल्यान्डका अवकाशप्राप्त वरिष्ट सैनिक अधिकृत जनरल प्याट्रिक क्यामार्टको नेतृत्वमा एक टोली पठाइने निर्णय भएको छ ।
साउदी अरेबियाले राष्ट्रसङ्घको प्रस्तावको स्वागत गरेको छ । युद्धबिरामले हुथी विद्रोहीले युद्धको तयारीका लागि स्रोतसाधन जुटाउने सम्भावना घटाएको साउदी सरकारका लागि राष्ट्रसङ्घमा उप–स्थायी प्रतिनिधि खालिद मन्जलावीले बताउनुभयो । उहाँले कुवेत र साउदी अरबका सहयोगी राष्ट्रहरुको निरन्तरको प्रयास सफल भएको पनि बताउनुभयो ।