ललितपुर, ९ पुस : यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालय नीतिगतरुपमा प्रदेशमा हस्तान्तरण भएको छ महीना पुग्दासमेत व्यावहारिकरुपमा हस्तान्तरण भएको छैन ।

कार्यालय प्रदेश मातहतमा नजाँदा सानो समस्याका लागिसमेत यातायात व्यवस्था विभाग धाउनुपर्दा सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारी दुवै हैरान छन् । सेवाग्राहीले सहजरुपमा कार्यालयबाट सेवा पाएका छैनन् । कार्यालयले पनि प्रदेशमा हस्तान्तरण भइसक्दासमेत सङ्घमै धाइरहनुपरेको हो ।
नीतिगतरुपमा एउटा तह र व्यावहारिकरुपमा अर्काे तहमा जिम्मेवारी हुँदा काम गर्न गाह्रो भइरहेको कार्यालयमा कार्यरत शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो । नयाँ चालक अनुमतिपत्र ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’को छपाइ विभागले गरिरहेको छ । झण्डै एक वर्ष पहिले परीक्षा पास गरेका सेवाग्राहीलेसमेत चालक अनुमतिपत्र पाएका छैनन् । दैनिकरुपमा धेरेै सेवाग्राही गुनासो गर्न कार्यालय आइपुग्छन् । उहाँले भन्नुभयो, “हामीले भने यहाँ आएको गुनासो विभागमा भन्ने कि प्रदेशमा भन्ने अन्योल नै छ ।”
एक त सेवाग्राहीको भीड बढी हुने कार्यालय त्यसमा पनि नयाँ प्रविधिका कारण केही वर्ष पहिले आएकाले धेरै खालका समस्या भोग्नुपरेको शाखा अधिकृत पौडेलले बताउनुभयो ।
चालक अनुमतिपत्रको चिप्स खस्दा मात्र पनि ‘के गर्ने’ भन्दै सेवाग्राही यहाँ आउँछन् । कतिपय भने राजश्व तिरेको कागजको अक्षर उड्यो भन्दै समाधान खोज्न आइपुग्छन् । सहजीकरणका लागि भित्र्याइएको प्रविधिमा काम गर्न एक त ज्ञान भएका जनशक्ति कम छ भने अर्कातिर ‘सर्भर’ मा समस्या आउँदा कर्मचारीलाई हैरान भएको हो । उहाँले भन्नुभयो, “हामीले यहाँको समस्या विभागमा नै पठाउनुपरेको छ ।”
कार्यालयमा ढड्डा र कम्प्युटर दुवैमा विवरण राख्ने गरिएको छ । दुवैमा एउटै विवरण नहुँदा कार्यालयले सच्याउन सक्दैन र विभाग पठाउँछ । व्यावहारिकरुपमा हस्तान्तरण नहुँदा दैनिकजसो समस्या आइरहेको उहाँले बताउनुभयो ।
कार्यालयमा फरकफरक खालका समस्या आएछ । दैनिक झण्डै २० जना गुनासोकै लागि मात्र आइपुग्छन् । सबैभन्दा बढि सेवाग्राही चालक अनुमतिपत्रको परीक्षा पास गरेको लामो समय वित्दासमेत प्रमाणपत्र नपाएको भन्दै गुनासो लिएर आउँछन् ।
छ महीना पहिले नै यातायात कार्यालय प्रदेशमा जाने निर्णय भएको थियो । त्यसपछि कार्यालयको बोर्ड, छापलगायतका कुरा प्रदेशको भए पनि कामको जिम्मेवारी प्रदेशले लिएको छैन । यातायातकै मोटरसाइकलको दुई अङ्क (९९ लट) सकिएकाले प्रदेशको नम्बर शुरु भइसक्दा पनि साना र ठूला सवारी साधनमा अहिलेसम्म वाग्मती अञ्चलकै नम्बर वितरण भइरहेको छ । काठमाडौँ उपत्यकामा चार ठाउँमा चालक अनुमतिपत्र कार्यालय राखिएको छ । सञ्चिता घिमिर, रासस