धनगढी, १५ पुस : कैलालीसित जोडिएको नेपाल–भारत सीमामा हराएका २७ सीमा स्तम्भ निर्माण गरिएको छ । नेपाल–भारत सीमा सर्वेक्षण टोली नं ४ का प्रमुख नापी अधिकृत जनकराज भट्टले सीमा क्षेत्रमा मुख्य र सहायक गरी १३३ सीमा स्तम्भ हराएकामा २७ स्तम्भ निर्माण पूरा भएको जानकारी दिनुभयो । दुवै देशको संयुक्त सीमा सर्वे टोलीले नयाँ स्तम्भ निर्माणका साथै ९८ स्तम्भको समेत मर्मत सम्पन्न गरेको हो । कैलालीसित जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा मुख्य ५३ र सहायक २२९ सीमा स्तम्भ छन् ।
प्रमुख नापी अधिकृत भट्टले सीमाको सर्वेक्षणका लागि रेकी कार्य (पूर्वेक्षण) गर्ने क्रममा मुख्य ११ र सहायक ६२ स्तम्भको पुनःर्निर्माण गर्नुपर्ने, मुख्य १३ र सहायक ५५ स्तम्भ नदी क्षेत्रमा देखिएको, मुख्य २९ र सहायक ११२ सीमा स्तम्भको सामान्य मर्मत गर्नुपर्ने देखिएको बताउनुभयो । दुवै देशको संयुक्त सर्वे नापी टोलीले गत वर्ष नै सीमाको सर्वेक्षण गर्नुभन्दा पहिले गरिने रेकी कार्य (पुर्वेक्षण) सम्पन्न गरिसकेको थियो । कैलालीको कालाकुण्ड क्षेत्रमा नेपालको केही भूभाग भारतीय पक्षबाट उपयोग हुँदै आएकोमा सो क्षेत्रमा दुवै देशको संयुक्त सीमा सर्वे टोलीले सीमा स्तम्भ निर्माण गरेपछि हाल करीब १६ विघा जग्गा नेपाली भूमिमा कायम हुन आएको छ ।
यस्तै कुसुमघाट क्षेत्रमा नेपालीले उपयोग गर्दै आएको जग्गा रहेको क्षेत्रमा सीमा स्तम्भ निर्माण गर्दा सो क्षेत्रको केही जग्गा भारतीय भूमिमा पर्ने देखिएको छ । फूलबारी क्षेत्रको हकमा मोहना नदीले भारतीय भूमि हुँदै आफ्नो धार परिवर्तन गरेकोले धार परिवर्तन हुँदा नेपालतर्फ बाँकी रहेको भारतीय भूमिमा नेपाली पक्षले सामुदायिक वन बनाएको देखिएको नापी अधिकृत भट्टले बताउनुभयो ।
मोहना नदीले कतिपय स्थानमा आफ्नो धार बेलाबखत परिवर्तन गर्दै सीमामा रहेका स्तम्भ बगाउने वा पुर्ने समस्या पहिलेदेखि नै रहेको छ । नेपाल र भारतबीच सीमा सम्बन्धमा भएका ऐतिहासिक सन्धी र सम्झौताअनुसार सीमा सम्बन्धी काम वर्षौदेखि चल्दै आएको छ । सर्वेक्षण टोलीले कैलालीको खक्रौलास्थित सीमा स्तम्भ नम्बर ७०० देखि कञ्चनपुरको ब्रह्मदेव बजार नजिकको सीमासम्भ नम्बर ८१३ सम्मको सीमामा काम गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सीमा क्षेत्रमा रहेका स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र सञ्चारकर्मीसँग समन्वय एवं छलफल गर्दै सर्वेक्षणको काम गर्न टोलीलाई निर्देशन दिनुभयो । कार्यक्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अधिकारी, जिल्ला प्रहरी प्रमुख, सीमा क्षेत्रका स्थानीय तहका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
-रासस