नारायणपुर, १७ पुस: घोराही उपमहानगरपालिका दाङले छ जना बालश्रमिकलाई उद्धार गरेर पुनःस्थापना गरेको छ । घोराही बजार क्षेत्रका विभिन्न स्थानमा जोखिमपूर्ण काममा संलग्न छ जना बालबालिकालाई कार्यस्थलबाट उद्धार गरेर पुनःस्थापना गरेको उपप्रमुख सीता सिग्देल न्यौपानेले बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नं १९ सिमलडाँडा बस्ने रेशम रोकामगर, बङ्गलाचुली गाउँपालिका– ३ फाटा बस्ने वीरबल नेपाली, गढवा गाउँपालिका– ६ घोरा बस्ने भुवन देवकोटा, तुलसीपुर उपमहानगरपालिका– १८ दूधरास बस्ने यज्ञबहादुर सार्की, घोराही उपमहानगरपालिका– १४ बसपार्क बस्ने अर्पण सुनार र वडा नं १३ आनन्दनगर बस्ने रविन विकलाई उद्धार गरिएको उपमहानगरपालिकाले बताएको छ । उद्धारपछि उनीहरुलाई विद्यालय जान सहयोग पु¥याएको छ ।
बालश्रमिकलाई शैक्षिक सामग्री, झोला, विद्यालय पोशाकसमेत वितरण गरिएको छ भने भभिभावकको आयआर्जनमा सहयोग पुग्ने गरी रु १५ हजार हस्तान्तरणसमेत गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले जानकारी दिनुभयो । “त्यो रकम बालबालिकाका अभिभावकले आयआर्जनमा लगाउने छन् र त्यसबाट आएको नाफाले सन्तानलाई विद्यालय पठाउने छन्”, सुनारले भन्नुभयो ।
“घोराही उपमहानगरपालिकालाई हामीले बालमैत्री बनाउने अभियानमा छौँ र बालश्रममा संलग्न बालबालिकालाई उद्धार गर्ने र विद्यालयको पहुँचमा पु¥याउने वातावरणसमेत निर्माण गर्दै आएका छौँ”, उपप्रमुख न्यौपानेले बताउनुभयो । यो वर्ष २० जना जोखिमपूर्ण कार्यमा संलग्न बालश्रमिकलाई उद्धार गरिसकेको घोराही उपमहानगरपालिकाले बताएको छ । अहिलेसम्म घोराही उपमहानगरपालिकाको वडा नं ५, ६ र ७ गरी तीन वटा वडा बालमैत्री वडाका रुपमा घोषणा भइसकेको न्यौपानेले बताउनुभयो । घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्न हिमालयन शान्ति तथा विकास अभियान नेपालले प्राविधिक सहयोग गर्दै आएको छ ।
-रासस