प्रहरीको छवि उच्च राख्ने गरी काम गर्नुपर्छ : प्रहरी नायब महानिरीक्षक थापा

admin

भक्तपुर, १८ पुस: प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सूर्यविनायक नगरपालिका– ३ बालकोटस्थित महानगरीय प्रहरी प्रभागको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभयो । रु दुई करोड २६ लाखको लागतमा निर्माण भएको उक्त भवनमा प्रभागको कार्यालय, व्यारेक तथा भान्साघरसहित १९ वटा कोठा रहेको छ । सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक क्षेत्रीले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन प्रहरी कुनै हालतमा चुक्न नहुने बताउँदै प्रहरीले गरेका राम्रा र उपलब्धिमूलक काम छायाँमा परेको बताउनुभयो ।

“निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउन हरेक प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो, “निर्मला प्रकरणमा मिडियाले धेरै उचाल्यो, प्रहरीको छवि बिग्रनेगरी समाचार आइरहे तर प्रहरीले गरेको राम्रो कामलाई सञ्चार माध्यमले बाहिर ल्याएनन्, त्यसैले प्रहरीको छवि उच्च राख्ने गरी काम गर्नुस् ।” मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रहरीबाट आम नागरिकले शान्ति र सुरक्षाको प्रत्याभूति चाहने बताउँदै प्रहरीले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले दुई रोपनी छ आना दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त साढे दुई तल्लाको दुई वटा भवनमध्ये एउटामा कार्यालय प्रमुख कक्ष, प्रशासनिक कक्ष, महिला प्रहरी कर्मचारीका लागि सुविधा युक्त व्यारेक, महिला तथा बालबालिका सेल, महिला र पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष रहेको र अर्को भवनमा भान्छाघर एवं प्रहरी कर्मचारीको व्यारेक रहेको बताउनुभयो । बालकोट प्रभागका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक सुरेश केसीले प्रहरी प्रधान कार्यालयले जग्गा खरीद गरी सो भवन निर्माण गरेको बताउनुभयो । प्रहरी नायब उपरीक्षक एवं इञ्जिनीयर ईश्वर थापाले नवनिर्मित भवन सरकारले लागू गरेको भवन आचार संहिताअनुरुपको भूकम्प प्रतिरोधी भएको जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया